युरो नेपाल कलाकार संघ बेल्जियम तीज बिशेष, नेपाली नारीहरु संगै नाचे बेल्जियमका महिला,

0

युरो नेपाल कलाकार समाज बेल्जियमले यस वर्षको हरितालिका तीजको दर खुवाउने कार्यक्रम लुभेनमा उत्साहपूर्वक सम्पन्न गरेको छ।

कार्यक्रमका प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, बिशेष अतिथि एनआरएनए बेल्जियम अध्यक्ष सिता सापकोटा, एनाका पूर्व अध्यक्ष पार्वती अधिकारी, अध्यक्ष बलराम पुनले संयुक्त रुपमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो।

कार्यक्रममा उपस्थित महिला दिदीबहिनीहरुलाई तीज पर्वको शुभकामना दिदै प्रमुख अतिथि राजदुत लम्सालले एना बेल्जियमले नेपाली कला, संस्कृति र परम्पराले प्रवासी भूमिमा पनि आफ्नो मौलिकता जोगाइ राखेकोमा खुसी व्यक्त गर्नुभयो।

बिशेष अतिथि एनआरएनए अध्यक्ष सीता सापकोटाले आफ्नो कार्यकालमा सामाजिक र सांस्कृतिक कार्यका लागि एना बेल्जियमको सहकार्यका लागि धन्यबाद दिदै तीज जस्ता मौलिक पर्बले नेपाली पहिचानमा उचाइ थपेकोछ भन्नुभयो।

लुभेन नगरपालिका सदस्य सुर्य ढकालले दिदीबहिनीहरुलाई नगरपालिकाको तर्फबाट शुभकामना दिदै ऐनाको सांस्कृतिक गतिविधिको श्रहना गर्नुभयो।

युरोनेपाल कलाकार संघ बेल्जियमका अध्यक्ष बलराम पुनले तीजको गीत गाउदै तीजको शुभकामना दिनुभयो। पुनले कार्यक्रमका स्पोन्सर, सहयोगी, स्वयमसेवक एबम संस्थाका पदाधिकारीहरुलाई धन्यबाद दिदै नेपाली कलाको संरक्षणमा निरन्तर सहयोग र सहकार्यका लागि नेपाली समुदायलाई अनुरोध गर्नुभयो।

उपस्थित अतिथि एबम तीजको दर खाना आएका पाहुनाहरुलाई संस्थाकी कोषाध्यक्ष एबम कार्यक्रम संयोजक निशा आलेले स्वागत गर्नुभएको थियो। कार्यक्रमको संचालन बरिष्ठ उपाध्यक्ष गडुलधोज गुरुङले गर्नुभएको थियो। सीता थापा र लालमती गुरुङले स्वागत गीत गाउनुभएको थियो।

कार्यक्रममा परम्परागत पञ्चेबाजा लाइभ प्रस्तुति, साना नानीहरू केलिशा, सिमोन र गृष्माको राष्ट्रिय गीत गायन, र विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएका थिए। विशेषगरी, रातो सारी, चोली र मौलिक गहनाले सिंगारिएका नेपाली महिलाहरूले तीजका गीतमा छमछमी नाचेर वातावरणलाई झन् उल्लासमय बनाएका थिए।

कार्यक्रममा लुभेन नगरपालिकाका उपमेयर दिर्क भान्सेना, मगर संघ बेल्जियम अध्यक्ष कल्पना मगर लगायत बिभिन्न संघ संस्थाका पदाधिकारी र नेपालका बेल्जियन शुभचिन्तकहरुको उपस्थिति रहेको थियो।

युरो नेपाल कलाकार समाज बेल्जियमले नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनलाई निरन्तर आफ्नो लक्ष बनाएर काम गरिरहेकोछ ।

Leave A Reply

Your email address will not be published.