नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाललाई समृद्ध बनाउन र सुशासन कायम गर्न सघाउन गैर आवासीय नेपाली समुदायलाई आग्रह गरेका छन्।
अमेरिका र बेलायत पछि युरोप पुगेका घिसिङले आज बेल्जियममा विद्युत प्राधिकरण छाडे पछि आफुले साथीहरुसंग सरसल्लाह गरेर बहराइनबाट उज्यालो नेपाल अभियान सुरु गरेको बताए।
नेपाली व्यवसायी संघ बेल्जियमद्वारा सोमबार लुभेनमा आयोजित एक अन्तरक्रियालाई सम्बोधन गर्दै घिसिङले बिजुलीको उज्यालोले मात्रै देश उज्यालो नहुने बुझेर आफुले देश बिकाशको उज्यालो अभियान सुरु गरेको बताए।
नेपालमा बेरोजगारी, भ्रस्टाचार समस्या रहेता पनि व्यापक अवसरहरु रहेको पनि उनले बताए। “नेपालमा हामीले ५० हजार मेगावाट ऊर्जा उत्पादन गर्न सक्यौं भने ऊर्जा निर्यातबाट ब्यापार घाटा घटाउन सकिन्छ, विभिन्न पूर्वाधार आयोजना संचालन गर्न सकिन्छ।
२५ देखि ३० वर्षमा सबै आयोजना सरकारी हुनेछन् र मुलुकले वर्षेनी ३० खरब रुपियाँसम्म आय आर्जन गर्न सक्नेछ, जुन नेपालक़ो बजेट भन्दा पनि बढ़ी हुनेछ,” उनले भने।
घिसिङले नेपालमा ‘राइट पर्सन एट राइट पोष्ट’ हुनु पर्ने बताउंदै हरेक दल भित्र राम्रो नेतृत्व जन्माउन पनि आफ्नो अभियानले सहयोग गर्ने बताए। उनले नेपालमा परिवर्तन अवस्यम्भावि छ भन्दै उज्यालो नेपालमा जोडिन प्रवासी नेपालीहरुलाई आग्रह गरे।
एक प्रश्नको जवाफमा उनले उज्यालो नेपाल एक सामजिक अभियान भएको जनाउंदै तत्काल राजनीतिक पार्टी खोल्ने आफ्नो कुनै योजना नभएको बताए। कार्यक्रममा बेल्जियमस्थित विभिन्न संघसंस्थाका प्रतिनिधिहरु एबम घिसिङ्गका शुभेक्छुकहरुले उज्यालो नेपाल अभियान र बर्तमान राजनीतिक अबस्थाका जिज्ञासा राख्नुका साथै सुझावहरु पनि दिएका थिए।
कार्यक्रमको सुरुमा नेपाली व्यवसायी संघ बेल्जियमका अध्यक्ष चिरन कुमार खवासले सबैलाई स्वागत गरेका थिए भने संघकी सचिव रिचा गुरुङले कार्यक्रम संचालन गरेकी थिइन्।
आजको बिशेष कार्यक्रम “खादा माला अनि आशन भाषण रहित ” गरिएको थियो।

