नेपाली राजदुताबास बेल्जियमले गर्यो नेपाली समुदायका अगुवाहरुसंग अन्तरक्रिया,

0

नेपाली राजदुताबास बेल्जियमले बेल्जियममा सक्रिय नेपाली संघ संस्था एबम सामाजिक अगुवाहरुसंग अन्तरक्रिया गरेकोछ। बेनेलक्स एबम युरोपियन युनियनका लागि नेपाली राजदुत नियुक्त भएर ३ महिना अघि कार्यभार सम्हाल्न आउनुभएको नेपाल सरकारका निबर्तमान परराष्ट्र सचिब सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस भनेर नेपाली समुदायको सुझाब लिन अन्तरक्रियाको आयोजना गरिएको हो।

डायस्पोराका संघ संस्थासंग बिशेष गरि चार वटा बुदा “नेपालमा पर्यटन प्रबर्धन एबम पर्यटकीय गन्तब्यको प्रभावकारी प्रचार प्रसार, नेपालमा लगानी भित्र्याउन दुतावासले खेल्नु पर्ने भूमिका, बेल्जियममा उपलब्ध रोजगारीका अवसर र चुनौती, दुताबासको सेवा प्रबाहलाई सरलीकृत गर्न ” के कस्ता उपाय अपनाउन सकिन्छ भन्ने बारेमा सुझाब मागिएको थियो ।

अन्तरक्रियामा उपस्थित नेपाली समुदायले बेल्जियममा बिसौ बर्षबाट भोग्दै आएका समस्या र समाधानका लागि ब्यबहारिक उपाय र कुटनीतिक पहल, लगानी र पर्यटन प्रबर्धनका लागि नेपाल सरकारले गर्नु पर्ने र सुधार्नु पर्ने नीतिनियम एबम युरोपको श्रम बजारमा नेपाली जनशक्तिको पहुचका लागि गर्न सकिने काम लगायत एनआरएन नागरिकता, दोश्रो पुस्तालाई नेपालसंग जोड्नका लागि पहल, भिषा सम्बन्धि समस्या एबम हवाई यातायात समस्या र युरोपमा नेपाली बिमान कम्पनिलाई लगाएको प्रतिबन्ध फुकुवाको पहल साथै योग र ध्यान, नेपाली परिकार, कला संस्कृति मार्फत नेपाल प्रबर्धन गर्ने आदि बिषयमा खुल्ला धारणा राख्नु भएको थियो।

दुतावासको सेवा सुबिधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग र सेवाग्राहीलाई सेवा सम्बन्धि सचेतना जगाउने कार्यक्रम,नेपालको प्रबर्धन गर्न बेल्जियमका मेडियाहरुमा प्रचार प्रसार, नेपाली ब्यबसायिक संस्थान (रेस्टुरेन्ट, पसल) हरुमा नेपाल झल्काउने सामाग्री बितरणको ब्यबस्था, नेपाल फेस्टिबल, फूड फेस्टिबल गरिरहेका नेपाली संघ संस्थाहरुसंग सहकार्य र प्रोत्साहन, नेपाली मूलका बालबालिकाहरुका भाषा पाठ्यपुस्तक र भाषा स्तरको परिक्षाको ब्यबस्था, आफ्ना नजिकका बेल्जिक साथीहरुलाई नेपालमा पर्यटनका लागि प्रोत्साहन गर्ने लगायतका दुताबास र नेपाली समुदायले गर्न सक्ने थुप्रै बिषयमा सहभागीहरुले सुझाब राख्नु भएको थियो।
नेपाली दुतवास बेल्जियमका तृतीय सचिब रमेश गैरेले सहजीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रममा राजदुत लम्सालले सहभागीहरुलाई स्वागत गर्दै अन्तरक्रियाका बिषय प्रवेश गराउनु भएको थियो।

उहाले आफ्नो बेल्जियम आगमनको १२० दिन मात्र पुगेको र दशकौबाट बेल्जियमको बस्तुस्थिति बुझेको यंहाको नेपाली समुदायबाट सुझाब सल्लाह लिएर नेपालको हितमा कुटनीतिक पहल थाल्न सहज होस् भनेर बोलाइएको छलफलबाट प्राप्त सुझाबहरु कार्यपुस्तिका बनाएर राख्ने र सोहि अनुसार ब्यबस्था गरिने प्रतिबद्धता जाहेर गर्नुभयो ।

लगानीका लागि ब्यबसायिहरु, नेपालको प्रचार प्रसारका लागि संचारकर्मीहरु, रोजागारीका लागि प्रोफेशनल व्यक्ति,संस्थाहरु, भाषा साहित्य र कलासंस्कृतिको प्रबर्धन एबम प्रचार प्रसारका लागि कलाकार, साहित्यकार, जातीय तथा सांस्कृतिक व्यक्ति,संस्थाहरुले जिम्मेवारी लिएर दुताबाससंग सहकार्य गर्न पनि उहाले अनुरोध गर्नु भयो।

भविष्यमा पनि यस खाले अन्तरक्रिया र छलफल दुताबासले आयोजना गर्ने बताउदै राजदुत लम्सालले सहभागिता र सुझाबका लागि संघ संस्थाका पदाधिकारी एबम प्रतिनिधिहरुलाई धन्यबाद व्यक्त गर्नुभयो।

कार्यक्रममा नेपाली दुतावासका द्वितीय सचिब रूस कार्की, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा,एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु एबम केन्द्रीय पदाधिकारीहरु पीजी शेर्पा, गंगाधर गौतम, लोक दाहाल, चित्र सुबेदी लगायत बैचारिक, सांस्कृतिक, सामाजिक, क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो ।

सोहि अवसरमा आफ्नो कार्यकाल पुरा भएर दुताबासका द्वितीय सचिब रूस कार्की एबम पदोन्नति भएर फर्किन लाग्नुभएका तृतीय सचिब रमेश गैरेलाई प्रबासी नेपाली मंचका अध्यक्ष बिनोद न्यौपाने, पर्बत समाज बेल्जियम अध्यक्ष नन्दा गुरुङ (दुर्गा) ले खादा र पुष्प गुच्छा दिएर बिदाइ गंर्नुभएको थियो।

Leave A Reply

Your email address will not be published.