नेपाल-लक्जेम्बर्ग लोक कल्याणकारी संस्थाको १३ औं वार्षिकोत्सव सम्पन्न: युद्ध थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन,
प्रतीक लामिछाने, लक्जेम्बर्ग।
‘सेवा नै धर्म हो’ भन्ने पवित्र भावनाका साथ परदेशी भूमिमा कृयाशील ‘नेपाल-लक्जेम्बर्ग लोक कल्याणकारी संस्था’ को १३ औं वार्षिकोत्सव, अधिवेशन तथा पद हस्तान्तरण समारोह भव्यताका साथ सम्पन्न भएको छ।
संस्थाको आइतबार सम्पन्न अधिवेशनबाट आगामी कार्यकालका लागि युद्ध थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। नवगठित कार्यसमितिको उपाध्यक्षमा केशव भट्टराई र सचिवमा खगराज रेग्मी, कोषाध्यक्षमा बविता पाण्डे (पन्थी)चयन हुनुभएको छ भने अन्य पदाधिकारी तथा सदस्यहरू पनि सर्वसम्मत रूपमा चुनिनुभएको छ।
कार्यक्रममा उपस्थित वक्ता तथा सहभागीहरूले लक्जेम्बर्गमा छरिएर रहेका नेपालीहरूलाई एकसूत्रमा बाँध्न, आपतविपत्मा सहयोग गर्न र नेपाली कला, संस्कृति तथा पहिचानलाई परदेशमा जगेर्ना गर्न यो संस्थाले खेल्दै आएको भूमिकाको उच्च प्रशंसा गरेका थिए। हजारौँ माइल टाढा रहे पनि मातृभूमि नेपालप्रतिको दायित्व र भावनालाई जीवित राख्न संस्थाले चौतारीको रूपमा काम गर्दै आएकोमा वक्ताहरूको विशेष जोड थियो।
नवनिर्वाचित अध्यक्ष युद्ध थापा लगायत सम्पूर्ण पदाधिकारीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै वक्ताहरूले आगामी दिनमा संस्थालाई अझ बढी सशक्त, एकताबद्ध, सक्रिय र प्रभावकारी बनाउन नयाँ टिम सफल हुने विश्वास व्यक्त गरेका छन्। विशेष गरी लक्जेम्बर्गको नेपाली समुदायको हित, युवा सशक्तीकरण, सामाजिक एकता तथा सांस्कृतिक संरक्षणमा नयाँ कार्यसमितिको कार्यकाल ऐतिहासिक र प्रेरणादायी हुने अपेक्षा गरिएको छ।
कार्यक्रमले परदेशमा पनि नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूबीच आत्मीयता र आपसी सद्भावलाई अझ प्रगाढ बनाउन महत्त्वपूर्ण सन्देश दिएको छ।