डेनमार्कका लागि नेपाली राजदुत सुम्निमा तुलाधर द्वारा डेनमार्कका राजा फेड्रिक समक्ष ओहदाको प्रमाणपत्र पेश,
डेनमार्क अधिराज्यका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले डेनमार्कका राजा फ्रेडरिक आन्द्रे हेन्रिक क्रिस्चियनसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएकोछ। कोपेनहेगन स्थित ऐतिहासिक क्रिस्चियनबोर्ग प्यालेसमा आयोजित एक विशेष समारोहमा राजदूत तुलाधरले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो।
डेशिस महाराजले राजदुत तुलाधरको ओहदाको प्रमाणपत्र ग्रहण गरे पछि उहाहरु बीच शिष्टाचार भेट भयो। भेटका क्रममा राजदूत तुलाधरले नेपाल सरकार र नेपाली जनताको तर्फबाट डेनमार्कका राजा, सरकार तथा जनताप्रति हार्दिक शुभकामना र सम्मान व्यक्त गर्नुभयो।
साथै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री के.पी. शर्मा ओलीको तर्फबाट राजा फ्रेडिक र डेनिश जनताको सुस्वास्थ्य तथा समृद्धिको कामना गरि पठाएको संदेश सुनाउनु भयो।
राजा फ्रेडरिकले राजदूत तुलाधरलाई नया राजदुत नियुक्त हुनु भएकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।
भेटवार्ताका क्रममा नेपाल–डेनमार्कबीचको सद्भावनापुर्ण द्विपक्षीय सम्बन्ध, सहकार्यका र साझा सरोकारका विषयमा छलफल भयो। राजा फ्रेडिकले २०१५ को विनाशकारी भूकम्पपछि नेपालको पुनर्निर्माण र आफ्नो नेपाल भ्रमणको स्मरण गर्दै आत्मीय सम्झना व्यक्त गर्नुभयो। उहाले पश्चिम नेपालका विभिन्न भूकम्प प्रभावित क्षेत्रमा पुगेर राहत कार्यको निरीक्षण गर्नुभएको थियो।
राजदूत तुलाधरले जलवायु परिवर्तन तथा त्यसले हिमालय क्षेत्रमा पारेको प्रभावबारे जानकारी दिँदै “सगरमाथा संवाद” अन्तर्राष्ट्रिय मञ्चको विषयमा जानकारी गराइन्। उक्त मञ्चले हिमनदीको तीव्र पग्लाइ र त्यसको असरका बारेमा अन्तर्राष्ट्रिय संवाद अघि बढाउने उद्देश्य लिएको छ।
उक्त समारोहमा राजदूतका पति श्री गौरी प्रधान तथा नेपाली राजदूतावासका अन्य कूटनीतिज्ञहरूको पनि उपस्थिति थियो।