बर्लिन प्राइड परेडमा कारले हानेर एक महिलाको मृत्यु, १६ भन्दा बढी घाइते,

0

बर्लिन, जर्मनी,

जर्मनीको राजधानी बर्लिनमा आयोजित प्राइड परेडका क्रममा एक व्यक्तिले भीडमा कार चढाउदा एक महिलाको मृत्यु भएको छ भने १६ भन्दा बढी व्यक्ति घाइते भएका छन्। शनिबार राति करिब १० बजे भएको उक्त घटनाको जर्मन प्रहरीले आतंकवादी कोणबाट समेत अनुसन्धान गरिरहेको जनाएको छ।

घटना बर्लिनको प्रसिद्ध ब्रान्डेनबर्ग गेट नजिक रहेको टियरगार्डेन क्षेत्रमा भएको हो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको जनाइएको छ।

बर्लिन प्रहरीले २१ वर्षीय अब्दुल बी नामका एक व्यक्तिलाई मुख्य सन्दिग्धका रूपमा खोजी गरिरहेको छ। प्रहरीका अनुसार उनी आतंकवादी इस्लामिक संगठनसँग सम्बन्धित हुन सक्ने आशंकामा अनुसन्धान अघि बढाइएको छ। यद्यपि, घटनाको उद्देश्य र पृष्ठभूमिबारे आधिकारिक निष्कर्ष भने सार्वजनिक गरिएको छैन।

घटनापछि जर्मनीका चान्सलर फ्रेडरिक मर्जले आक्रमणको कडा शब्दमा निन्दा गर्दै दोषीलाई कानुनी दायरामा ल्याइने र घटनाको निष्पक्ष अनुसन्धान गरिने बताएका छन्।

त्यस्तै, बर्लिनका मेयर काइ वेग्नरले स्वतन्त्र, खुला र लोकतान्त्रिक समाजमाथि भएको यस्तो आक्रमण अस्वीकार्य रहेको भन्दै पीडितप्रति समवेदना व्यक्त गरेका छन्।

सन्दिग्ध व्यक्ति जर्मनीबाट फरार भएको आशंकामा जर्मन प्रहरीले अन्तर्राष्ट्रिय खोजी अभियान तीव्र बनाएको छ। यसका लागि बेल्जियम, नेदरल्याण्ड्स, लग्जेम्बर्ग, फ्रान्स, अस्ट्रिया, स्विजरल्यान्ड, चेक गणतन्त्र, पोल्यान्ड तथा डेनमार्कका सुरक्षा निकायसँग सहयोगको अनुरोध गरिएको छ। रातभर सञ्चालन गरिएको खोजी अभियानपछि सन्दिग्धले सीमा पार गरेर भागेको हुन सक्ने आशंका गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको विस्तृत अनुसन्धान जारी रहेको र थप विवरण प्राप्त भएपछि सार्वजनिक गरिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.