नेपाली व्यवसायीहरूको सामूहिक लगानीमा सन् २०२० देखि एशियाली खाद्य सामग्री आपूर्ति गर्दै आएको कम्पनी फूड एसियाले बेल्जियमको एन्तवेरपेन सहरमा ‘ग्रीनसी’ नामक एनभेआ ( कम्पनि लिमिटेड ) को स्थापना गरेको छ।
जापानी, चीनी,थाई लगायत नेपाली खाद्य सामग्री बितरण गर्दै आएको कम्पनिले सालमोन टूना लगायतका सिफ़ुड र ताजा कृषि उत्पादन पनि बेच्ने गरि ठुलो लगानीमा नयाँ सिस्टर कम्पनि ग्रीनसी सुरु गरेको हो।
कम्पनीले ४५० भन्दा बढी उत्पादनहरू आयात गरि एबम ७५ भन्दा बढी उत्पादनहरू आफ्नै ब्रान्डमा उत्पादन गरेर वितरण गर्दै आएकोछ । यसियन खाद्य सामाग्री बितरणलाई थप विस्तार गर्दै कम्पनीले ‘ग्रीनसी फूड’ सुरु गरेको हो, जसले साल्मोन, टूना लगायत विभिन्न समुद्री खाद्य पदार्थ तथा ताजा कृषि उत्पादनहरू ठूलो परिमाणमा थोक बिक्री गर्ने लक्ष्य लिएको छ।
बेल्जियममा ५ वर्षभन्दा बढी समयदेखि जापानी, चिनियाँ, थाई तथा नेपाली खाद्य सामग्री यूरोपियन बजारमा बेच्दै आएको कम्पनीले छोटो समयमै बेल्जियमका नेपाली समुदाय तथा स्थानीय बजारमा आफ्नो पहिचान स्थापित गर्न सफल भएको छ।
विशेष गरी सुशी रेस्टुरेन्टको लागि आवश्यक सामग्री सहज रूपमा बितरण गर्ने उद्देश्यले स्थापना गरिएको यस कम्पनीले वार्षिक १० मिलियन भन्दा बढीको खाद्य सामग्री बिक्री गर्दै आएको छ।फूड एसिया कम्पनी ७ जना नेपाली व्यवसायीको शेयर लगानीमा ५ वर्ष अघि सुरु भएको हो ।
कम्पनीले एशियाली रेस्टुरेन्टहरू तथा यसियाली खाद्य पसलहरूलाई आबस्यक सामाग्री बितरण गर्ने गरेकोछ । हालसम्म झण्डै ४०० भन्दा बढी रेस्टुरेन्टहरू तथा सोहि अनुपातमा पसलहरुलाई सुशी, थाई, चिनियाँ र नेपाली खाद्य सामग्री आपूर्ति गर्दै आएको छ।
सुशी रेस्टुरेन्टमा आवश्यक पर्ने साल्मोन, टूना, बटर फिस, एवोकाडो, सलाद लगायतका खाद्य सामग्रीहरू सहज रूपमा उपलब्ध गराउने तथा उपभोक्तालाई गुणस्तरीय उत्पादनहरू उचित मूल्यमा प्रदान गर्ने अवधारणा र उद्देश्यले ग्रीनसी फूडको सुरुवात गरेको कम्पनीका निर्देशक कासी दनैले बताउनु भएकोछ।
२५ करोड रुपया भन्दा बढी चालु पुजी रहेको कम्पनीले आगामी दिनमा आफ्नै ब्रान्ड निर्माण गर्दै संरचना विस्तार गर्ने योजना बनाएको छ।
वातावरण संरक्षणलाई ध्यानमा राख्दै वातावरणमैत्री प्रविधिको प्रयोग गरेर दीगो स्रोतहरू पहिचान गरि संस्थाको निर्माण गरिएको र आगामी दिनमा ग्राहकहरूको सुझाव तथा आवश्यकता अनुसार बितरण प्रणालीलाई बिस्तार गर्ने कम्पनीका प्रबन्धनिर्देशक भीम जोशी (रोशन) ले जानकारी दिनुभएकोछ।
बेल्जियमस्थित नेपाली राजदूत सेवा लम्साल, बेल्जियमका प्रधानमन्त्री वार्त वेभरका सल्लाहकार तथा एन्त्वेरपेन नगरपालिकाका सदस्य स्तेंईन द रूस्तर, नेपाली अवैतनिक वाणिज्यदूत इन्ग्रिड क्युस्तर लेइतेनले सोमबार रिबन काटेर ग्रीनसी फूडको उद्घाटन गरेका थिए।
नगरपालिका सदस्य स्तेंईन द रूस्तरले उद्घाटन समारोहमा बोल्दै, एन्त्वेरपेनमा १७६ देशका नागरिक बसोबास गर्छन्। तपाईंहरूले यहाँको अर्थतन्त्रमा थप योगदान दिनुभएको छ, जुन अत्यन्त महत्वपूर्ण हो भन्दै सामूहिक रूपमा व्यवसाय सञ्चालनको प्रयास सफल हुनेछ भन्नु भयो।
रुस्तरले नेपाली ब्यबसायीहरुलाई सहयोग गर्न नगरपालिका तत्पर रहने प्रतिबद्धता सहित बधाई तथा सफलताको शुभकामना व्यक्त गर्नुभयो।
नेपाली राजदूत सेवा लम्सालले उद्घाटन समारोहमा, हालको युग व्यापारको युग हो, तपाईंहरूले चेन सप्लाई प्रणालीको अवधारणा लिएर व्यवसायलाई विस्तार गर्दै हुनुहुन्छ, यसले बेल्जियममा नेपाली समाजलाई चिनाउने मात्र होइन, सशक्त पार्नेछ भन्ने आशा लिएको छु भन्नु भयो। दुताबासलाई यस विशेष अवसरमा सम्झिनु भएकोमा धन्यवाद दिदै सफलताको शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा बेल्जियमका एनआरएनए अध्यक्ष सीता सापकोटा, व्यवसायी संघका अध्यक्ष चिरनकुमार खवास, लगायत सामाजिक अभियन्ता, व्यवसायी, आपूर्तिकर्ता तथा अन्य व्यक्तिहरूको उपस्थिति रहेको थियो।
एन्त्वेरपेन औद्योगिक क्षेत्रमा स्थापना गरिएको कमपनिले दिनमा बेल्जियम संगै बेनिलक्स क्षेत्र (बेल्जियम, नेदरल्यान्ड्स, लक्जेम्बर्ग) मा सेवा विस्तार गर्ने लक्ष्य लिएको छ।
अर्को वर्षदेखि नेपाली उत्पादनहरू समेत प्रवर्द्धन गर्दै, नेपाली तथा भारतीय उत्पादनहरूको छुट्टै केन्द्र स्थापना गर्ने योजना रहेको कम्पनिले जानकारी गराएकोछ।
कम्पनीका प्रबन्धक तथा निर्देशक भिम जोशीले अतिथिहरुलाई पसलको अवलोकन गराउनुका साथै ग्रीनसी फूडको तर्फबाट अतिथिहरू लाई मायाको चिनो प्रदान गर्नुभएको थियो।