बेल्जियमको नेपाली समुदायको सबै भन्दा पुरानो संस्था तमु समाज बेल्जियमले २६०९ औ तमु ल्होसार मनाएकोछ ।
लुभेनमा आयोजना गरिएको ल्होसार कार्यक्रममा नेपाली राष्ट्रिय गीत, तमु राष्ट्रिय गीत संगै गुरुङ भाषाका गीत न्रित्य, झाकी, पूजा अर्चना, शास्त्र पाठ लगायत लाहुरे कान्छा र नेपालका चर्चित गायक मिलन लामाले प्रस्तुति दिनु भएको थियो ।
बर्षभरि बिभिन्न विश्वबिद्यालयबाट दिक्षित भएका तमु विद्यार्थी एबम खेलकुदमा सफल खेलाडिहरुलाई पनि कदरपत्र सहितसम्मान गरिएको थियो ।
परम्परा अनुसार समाजका जेष्ठ सदस्यहरुलाई आमा समुहले सम्मान गरेको थियो ।
केही बर्षबाट तमु धिं र तमु समाजले फरक फरक तमु ल्होसार मनाउने गरेकामा यस बर्षबाट दुबै संस्थाको एकता भएर मनाइएको ल्होसारमा उल्लेख्य रुपमा गुरुङ समुदायका नरनारीहरुको उपस्थिती रहेको थियो ।
मौलिक पहिरनमा सजिएर आएका गुरुङ कलाकारको न्रित्य, गायन र अन्य सांस्कृतिक मान्यतामा आधारित रिवाज मनाउदा समुदायको नयाँ पुस्ता र अन्य संघ संस्थाका प्रतिनिधिहरुलाई गुरुङ सभ्यताबारे धेरै कुरा सिक्ने अबसर मिलेको सभागीहरुले बताएका छन ।
कार्यक्रमका प्रमुख अतिथी बेल्जियमका लागि नेपाली कार्यबाहक राजदुत रुस कार्की, बिशिष्ट अतिथी एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा,आदिबासी जनजाती महसंघ बेल्जियमका अध्यक्ष बीरमान मगर, तमु समाज जर्मनीका सचिब अस्विन तमु लगायत ल्होसारको शुभकामना दिएका थिए ।
संस्थापक अध्यक्ष मीन गुरुङ र पूर्व अध्यक्ष प्रबिना गुरुङ र ल्होसार कार्यक्रमका संयोजक ओम प्रशाद गुरुङले अतिथीहरुलाई स्वागत गर्दै तमु समाजका गतिबिधीबारे जानकारी गराएका थिए ।
कार्यक्रममा लक्जेम्बर्ग, नेदरल्याण्ड ,पोर्चुगल ,फ्रान्स ,स्पेन ,जर्मनी, बेलायत लगायतका देशबाट समेत अतिथिहरुको सहभागिता रहेको थियो ।
तमु समाज बेल्जियमका अध्यक्ष एबम कार्यक्रमका सभापति होम गुरूंङले सहभागि र सहयोगि सबैलाई धन्यवाद दिएका थिए । ल्होछार कार्यक्रमको संचालन समाजका महासचिव चित्रजंग तमुले गरेका थिए भने स्वागत मन्तव्य समाजका उपाध्यक्ष राम घलेले राखेका थिए ।
सांस्कृतिक कार्यक्रमको संचालन रिचा गुरुङ र प्रियंका गुरुङले गरेका थिए । गायक मिलन लामा र लाहुरे कान्छाको प्रस्तुतिमा सहभागिहरु नाचेर रमाएका थिए ।
कार्यक्रम सांस्कृतिक पहिचान र मनोरन्जनका लागि अबिस्मरणीय रहने सहभागिहरुको प्रतिकृया रहेको थियो ।