७ वर्षपछि निर्देशनमा फर्कँदै तुलसी घिमिरे

0

काठमाडौँ \ करिब ७ वर्ष अगाडि ‘दर्पण छाया २’  बनाएका निर्देशक तुलसी अहिले बल्ल फिल्म बनाउने तयारीमा छन् । फिल्मको मुख्य भूमिकामा अभिनेता विपिन कार्की अनुबन्धित भएका छन्, भने अन्य कलाकार छनौटको क्रममा छन् ।

महजोडी अर्थात् हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठको समेत अभिनय रहन सक्ने फिल्म कार्त्तिकबाट फ्लोरमा जाने तयारीमा छ । ‘पहाड’ निर्देशक घिमिरेको २३ औँ फिल्म हुनेछ ।

उनी अझै दुईवटा फिल्म बनाउन चाहन्छन् । उनले हालै एक पोडकास्टमा निर्देशकले २५ वटा फिल्म निर्देशन गरेपछि वैतरणीका लागि गाई दान गर्नुपर्दैन भन्ने धारणा राखेका छन् । २५ पुर्‍याउने अठोट आफ्नो रहेको उनले बताएका थिए ।

‘बलिदान’, ‘दर्पण छाया’, ‘चिनो’, ‘कुसुमे रुमाल’, ‘लाहुरे’ जस्ता एकसेएक सुपर हिट र यादगार फिल्म दिएका घिमिरे निर्देशित ‘दर्पण छाया २’ सन् २०१७ मा रिलिज भएको थियो ।

‘पहाड’लाई आगामी नयाँ वर्षमा रिलिज गर्ने उनको तयारी छ । पछिल्लो समय बढ्दो बसाइसराइले रित्तिँदै गएको पहाडी भूगोलको कथामा उनले फिल्म बनाउन लागेका हुन् ।

Leave A Reply

Your email address will not be published.