काभ्रेका बाढी पहिरो पीडितलाई सरकारी राहत प्रदान गर्न टोली परिचालन

0

काभ्रे \ गएको हप्ता बाढी पहिरोबाट क्षति भोगेका काभ्रेका पीडितहरूलाई राहत रकम उपलब्ध गराउन टोली परिचालन भएको छ । काभ्रेका पाँच वटा पालिकामा पहिरोमा परी ज्यान गुमाएका परिवारलाई सङ्घीय सरकारले दिने राहत रकम उपलब्ध गराउन टोली परिचालन गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

सबैभन्दा बढी मृतक सङ्ख्या रहेको पनौती नगरपालिका, बेथानचोक गाउँपालिका, रोशी गाउँपालिका, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर नगरपालिका गरी पाँच पालिकामा टोली खटिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो । पीडित परिवारलाई दुःख नदिने उद्देश्यका साथ सकेसम्म मृतकका घरमै पुग्ने र कठिन अवस्थामा वडा कार्यालयसम्म पुगेर भए पनि राहत रकम प्रदान गर्ने गरी टोली परिचालित गरिएको उहाँले बताउनुभयो ।

मृतक प्रति व्यक्तिले सङ्घीय सरकारबाट दुई लाख रुपैयाँ नगद राहत पाउनेछन् । परिवारमा एकभन्दा बढी मृतकको हकमा दुई लाखमा थप प्रति मृतक एक लाख थपिने प्रशासन कार्यालयले जनाएको छ ।

गएको ११ गतेपछि बाढी पहिरोका कारण काभ्रेका १० वटा पालिकामा गरी ७२ जनाले ज्यान गुमाएका छन् । पाँच जना अझै बेपत्ता रहेका जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.