पूर्वराष्ट्रपति भण्डारीलाई देशको भन्दा बढी एमालेको चिन्ता

0

काठमाडौँ \ ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा भनिन्, ‘म बाहेक अन्य नेताहरू पनि एमालेबाट सम्माननीय बन्नुभएको छ । पार्टीका कार्यक्रममा नेताहरू जानुहुन्छ । सामाजिक फोरमहरूमा भने जनताले खोज्ने गरेका छन् ।’

उनले नेकपा एमालेलाई अनुरोध गर्दै थप भनिन्, ‘मैले भन्न खाजेको के हो भने छिटोछिटो नेकपा एमाले बलियो भएर एमालेबाटै राष्ट्रपति बनाउनुस् । त्यो भएपछि मैले पालो पाउने भएँ ।’

झट्ट सुन्दा यो अभिव्यक्ति कुनै नौलो र ठुलो कुरा होइन । तर व्यक्ति विशेषका हकमा भने यस्तो अभिव्यक्ति अलि नसुहाउँदो सुनिन्छ । भण्डारीको यो अभिव्यक्तिलाई सुक्ष्म विश्लेषण गर्ने हो भने उनलाई देशको भन्दा पनि नेकपा एमालेको बढी चिन्ता रहेको देखिन्छ ।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले एमाले मुलुकको निर्णायक राजनीतिक शक्ति बन्न जरुरी रहेको पनि बताइन् । उनको यो अभिव्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओली वा अरु सक्रिय राजनीतिमा रहेका कुनै नेताको भन्दा फरक छैन ।

त्यतिमात्रै होइन, भण्डारीले सोही कार्यक्रममा जनताको बहुदलीय जनवादको आलोकमा संविधान कार्यान्वयन प्रक्रियामा रहेको भन्दै जबजको सिद्धान्तलाई मान्नेहरूले लामो समय मुलुकको नेतृत्वमा पुगे पनि भनेजस्तो काम नभएको बताइन् ।

यसबाट भण्डारीको राजनीतिप्रतिको चाहना कति छ भन्ने पनि प्रस्टै हुन्छ । राष्ट्रपति देशको अभिभावक हो । यस्तो पदमा रहिसकेको व्यक्तिको सामाजिक गतिविधि साझा र सबैले मान्ने खालको हुनुपर्छ भन्ने आम बुझाइ छ । त्यस्तो पदमा बसिसकेर बाहिरिएको व्यक्तिले कुनै एक पार्टी विशेषको चिन्ता गर्न नसुहाउने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

Leave A Reply

Your email address will not be published.