घुँडामा चोटका कारण स्वर्ण पदक जित्न असहज भयो : एरिका गुरुङ

0

एशियाली सिनियर कराँते च्याम्पियनशिपमा नेपालका लागि ऐतहासिक पदक जितेकी एरिका गुरुङले स्वर्ण जित्ने लक्ष्य भए पनि चोटका कारण सम्भव नभएको बताएकी छिन् ।

आज स्वदेश फर्किएकी एरिकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै घुँडामा चोटका कारण फाइनलमा समस्या भएको बताएकी हुन् । फाइनलमा बेहोरेको हारले अझै धेरै प्रशिक्षण गर्ने प्रोत्साहन मिलेको उल्लेख गर्दै उनले आउँदा दिनमा योभन्दा राम्रो नतिजा ल्याउने बताइन् ।

आज बिहान काठमाण्डौ आइपुगेकी गुरुङलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ, नेपाल कराँते महासङ्घका अध्यक्ष युवराज लामा, खेल पदाधिकारी, शुभेच्छुकहरूले स्वागत गरे । एरिका गुरुङलाई ब्यान्डबाजा, पुष्पगुच्छा, खादा र मालाले स्वागत गरिएको थियो । उनलाई फूल र बेलुनले सजिएको प्रहरीको भ्यानमा राखेर गन्तव्यतर्फ लगिएको थियो ।

एरिकाले चीनमा भएको २०औं एशिया सिनियर कराँते च्याम्पियनशिपमा महिला ६८ केजीमाथिको प्रतिस्पर्धामा रजत पदक जितेकी थिइन् । एशियन च्याम्पियनशिपको सिनियरतर्फ नेपालले जितेको यो पहिलो पदक हो । एरिका स्वर्ण पदकको प्रतिस्पर्धामा भने भियतनामकी नाखोन थी नुयेनसँग पराजित भइन् ।

Leave A Reply

Your email address will not be published.