मोती जयन्तीः बेल्जियममा काव्य गोष्ठी

0

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमको आयोजनामा काव्य गोष्ठी गरेर १५९ औं मोती जयन्ती मनाइएको छ । कार्यक्रममा बोल्दै सर्जकहरूले नेपाली साहित्यमा युवाकवि मोतीराम भट्टको योगदानबारे चर्चा गरेका थिए । वक्ताहरूले नेपाली गजलका साथै समालोचना, कविता र पत्रकारिता क्षेत्रमा भट्टको अतुलनीय योगदान रहेको बताए ।

कार्यक्रममा बेल्जियमनिवासी लेखकहरू पंचम अधिकारी र ब्रम्हदत्त वाग्लेले आफ्ना नवीनतम कृतिहरूबारे लेखकीय अनुभव सुनाएका थिए। आफ्नो लेखकीय मन्तव्य राख्दै अनेसास बेल्जियमका सल्लाहकार अधिकारीले आफ्नो भर्खरै सार्वजनिक कथासंग्रह ‘प्रवासीको देश हुन्न’ को रचनागर्भ बारे प्रष्ट्याएका थिए । प्रवासी नेपाली साहित्य अब कमजोर नरहेको उल्लेख गर्दै उनले पुस्तकहरूको बाढी आउने र त्यस्तैबाट खारिएर उत्कृष्ट साहित्य पनि सिर्जना हुने विचार व्यक्त गरे।

त्यसैगरी, अर्का सल्लाहकार लेखक वाग्लेले आफ्नो कृति ‘उपहार’को काव्य साधना र प्रकाशन अनुभवबारे धारणा व्यक्त गरेका थिए । अनेसासका केन्द्रीय उपाध्यक्ष डिल्ली अमाईले युरोपेली डायस्पोराका लेखकहरूको योगदानबारे चर्चा गर्दै भने, ‘जसरी मोतीराम भट्टले ओझेलमा रहेका भानुभक्त आचार्यका कृतिहरूलाई प्रकाशमा ल्याए त्यसैगरी बेल्जियमका लेखकका कृतिहरू हाम्रा सम्पत्ति हुन् र तिनको प्रबर्द्धनमा सबैले साथ दिनुपर्छ ।’

त्यसैगरी, नेपाल पत्रकार महासङ्घ बेल्जियमका अध्यक्ष ओम शर्मा र नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतमले युवाकवि भट्टको जीवनी र कृतित्वका बारेमा प्रकाश पार्दै भाषा साहित्य र संस्कृतिको संरक्षणमा अनेसास बेल्जियमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा खुशी व्यक्त गरे ।

अनेसास बेल्जियमका उपाध्यक्ष लोकनाथ शर्मा र महासचिव गोपाल दाहालले युवाकवि भट्टले भक्तिधारा र वीर रसमा बगिरहेको नेपाली साहित्यको धारलाई श्रृङ्गारिक धारमा परिवर्तन गरी नयाँ युगको शुरु गरेको बताए ।

कार्यक्रमको सभापतित्व गरेका अनेसास बेल्जियमका अध्यक्ष सौरभ कारन्जितले बेल्जियमबाट प्रकाशित नवीनतम कृतिहरूबारे छुट्टै कार्यक्रमहरू गरिने बताउँदै नेपाली साहित्यको संरक्षण र प्रवर्द्धनमा अनेसास बेल्जियमले गर्दै आएको योगदानको चर्चा गरे ।

कार्यक्रममा चन्द्र शर्मा, प्रकाशराज गिरी, चन्द्रकुमारी गुरूङ, मुना केसी, मणिराज गौतम, मुना ताम्राकारलगायत अनेसास बेल्जियमका पंचम अधिकारी, ब्रम्हदत्त वाग्ले, डिल्ली अमाई, जमुना गैरे (रचना प्राप्त), सौरभ कारन्जित, लोकनाथ शर्मा र गोपाल दाहालसहितका स्रष्टाहरूले रचना वाचन वा साहित्यिक अभिव्यक्ति व्यक्त गरेका थिए ।

Leave A Reply

Your email address will not be published.