जर्मनीको दोश्रो राजधानी सहर बोनमा ३६ औँ नेपाल दिवस (नेपाल टाग) भव्य रूपमा सम्पन्न भएकोछ। जुन २८ सनिबार भएको जर्मन-नेपाल मैत्री संघ (Deutsch-Nepal Gesellschaft) को आयोजनामा सम्पन्न नेपाल दिवसले नेपाल र जर्मनी बीचको जनस्तरको मैत्री सम्बन्धलाई थप सुदृढ बनाउने बिश्वास लिईएकोछ।
कार्यक्रममा नेपाली कला, संस्कृति र परम्पराको झल्को दिने विविध प्रस्तुतिहरू प्रदर्शन गरिएका थिए। सहभागीहरूलाई नेपाली नृत्य, हस्तकलाका सामग्रीहरूको प्रदर्शनी, परम्परागत पोशाक, र विविध सांगीतिक कार्यक्रमहरूले मन्त्रमुग्ध बनाएका थिए।
जर्मन एनजियोहरुको सहयोगमा उत्पादित नेपाली चिया, मसला, पौराणिक देबी देवताका मुर्तिहरु र जर्मनी नागरिकले लेखेका नेपाल सम्बन्धि पुस्तकहरुको स्टलमा आगन्तुकहरुको बिशेष चासो देखिन्थ्यो।
नेपाल डे को अवसरमा दशकौं देखि नेपालमा विभिन्न सामाजिक क्षेत्रमा सक्रिय रहेका जर्मन गैरसरकारी संस्थाहरू (एनजिओ) का प्रतिनिधिहरूले आफ्ना अनुभवहरू साझा गरेका थिए। उनीहरूले हिमाल, पहाड र तराईका ग्रामीण क्षेत्रहरूमा शिक्षा, स्वास्थ्य, सरसफाइ र पूर्वाधार सुधारमा पुर्याएको योगदानबारे जानकारी दिएका थिए ।
जर्मन स्वयंसेवकहरूले नेपालमा बिताएका समय र नेपाली समुदाय सँगको आत्मीय सम्बन्धबारे आफ्ना भावनाहरू व्यक्त गर्दा कार्यक्रममा उपस्थित नेपाली तथा विदेशी सहभागीहरू भावुक बनेका थिए।
जर्मनीका लागि महामहिम नेपाली राजदुत साहिल रुपाखेतीको प्रमुख आतिथ्यतामा भएको औपचारिक समारोह जर्मन नेपाल मैत्री संघका अध्यक्ष राम प्रताप थापाको सभापतित्वमा भएको थियो । बोन सहरका नगर प्रमुख कात्या डोर्नर, कोलन सहरका नगर प्रमुख हेनारिके रकेरले नेपाल दिवसको सफलताको कामना गर्दै शुभकामना संदेश पठाउनु भएको थियो ।
आनी छोयंग डोल्माको मंगल गीत बजाएर सुरु भएको उद्घाटन समारोहमा कमला दाहालको टिमले स्वागत नृत्य प्रस्तुत गरेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै राजदुत रुपाखेतीले जर्मन एनजियोहरुले नेपालको बिकासमा धेरै ठुलो योगदान गरेको र नेपाल सरकारको प्रतिनिधिको रुपमा दुतावासले एनजियोहरुका नेपाल सम्बन्धि योजनाहरुलाई आबस्यक सहयोग गर्नेछ भन्नु भयो । उहाले नेपालको हितमा काम गर्ने सबै संघसंस्थालाई दुतावासको ढोका सधै खुला छ भन्नु भयो।
चितवनको खैरेनी नगरपालिकाका प्रमुख शशि कुमार खनीयाले नगरको फोहर प्रशोधन र हरित अभियानमा जर्मनबासि नेपालीहरुले गरेको सहयोगका लागि धन्यबाद दिदै जर्मन दात्रि संस्थाहरुलाई नगरले सुरु गरेका बिकास योजनामा सहकार्य गर्न अनुरोध गर्नुभयो।
नेपालको अस्थिर राजनीति र त्यसको ठोस प्रभाब सम्बन्धि बिषयमा प्रा,डा, पुष्पराज जोशीले बिश्लेषणात्मक टिप्पणी गर्नु भएको थियो।
विश्वब्यापिकरणको युगमा नेपालको आर्थिक र सामाजिक भबिष्यका बारेमा प्रा डा बियात्रिस केनेर र नेपालमा जनस्वास्थ्यको बर्तमान स्थितिका बारेमा डा आर्ने द्रेवसले कार्यपत्र प्रस्तुत गर्दै चर्चा गर्नु भएको थियो।
जर्मन दात्रि संस्था ‘नेपाल एडका’ कोर्नेलिया स्टल फ्लेमिंगले नेपालमा ऐर एम्बुलेन्स संचालन गर्नका लागि संस्थाले सुरु गरेको आर्थिक श्रोत संकलनको अबधारणा र एम्बुलेन्स सेवाको आबस्यकताका बारेमा चर्चा गर्नु भएको थियो।
पाटन क्षेत्रका पौराणिक ढुंगे धाराको प्रयोग, र उपत्यकाको ऐतिहासिक जीबनचर्या , बाताबरणिय प्रभाब एबम सांस्कृतिक र पर्यटन सम्बन्धि बिषयमा डा मिखाएल म्युहलिकले आफ्नो अनुसन्धान प्राप्त विवरण प्रस्तुत गरेका थिए।
मेखार्निक माध्यामिक बिद्यालयका शिक्षिका क्याथरिन होफस्तेटर र बिद्यार्थीहरुले नेपाल भ्रमणको अनुभब साझा गर्दै नेपालको सुन्दरता र नेपालीहरुको मिलनसार ब्यबहारको प्रशंशा गरेका थिए ।
कार्यक्रममा प्रस्तुत भएका कार्यपत्र, अबधारणापत्र र सुझाब अनुसार आगामी योजना अगाडी बढाउने जर्मन नेपाल मैत्री संघका अध्यक्ष थापाले प्रतिबद्धता जनाउनुभयो। उहाले कार्यक्रममा प्रस्तुत भएका बिषयबस्तुमा सहभागीहरुसंग अन्तरक्रिया गर्नु भएको थियो ।
त्यहाँ प्रस्तुत रिपोर्ट र योजनाका बारेमा सहभागीहरुले प्रश्न र सुझाब राखेका थिए।
नेपाल तागको अर्को दिन जर्मन नेपाल मैत्री संघको बैठक बसी नेपाल तागको समिक्षा गर्नुका साथै आगामी कार्ययोजना बारे छलफल भएकोछ।
कार्यक्रमको सहजीकरण अल्का खनाल र तमारा ब्युलोले गरेका थिए।
कार्यक्रममा योग ध्यान प्रशिक्षक ओम शर्माले मानबीय चेतनाको बिकाश र बिश्व शान्तिका लागि योग ध्यानको महत्वको बारेमा बताउदै औरा ध्यानको अभ्यास गराउनुभएको थियो।
कमला दाहाल लगायतका कलाकार हरुले स्वागत नृत्य गरेर सुरु भएको कार्यक्रममा कलाकारहरु कमला दाहाल,अन्जना घिशिंग , कृष्टा कार्की धोली , रोशनी बुढाथोकी लगायतले बिभिन्न नेपाली नृत्य प्रस्तुत गर्नु भएको थियो।