३४ पालिकामा पद रिक्त : मंसिर तेस्रो हप्ता उपचुनाव गर्ने गृहकार्य

0

निर्वाचन आयोगले आउँदो मंसिर तेस्रो हप्ता पालिकामा रिक्त पदमा जनप्रतिनिधिको चुनाव गर्ने गरी आन्तरिक गृहकार्य थालेको छ । आयोगका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग हिजो भेटेर रिक्त पदमा उपचुनावको तयारीबारे छलफल गरेका छन् ।

सिंहदरबारमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा आयोगले कीर्तिपुर नगरपालिकाका मेयरसहित ३४ रिक्त पदमा आउँदो मङ्सिर तेस्रो हप्ता चुनाव गर्न उपयुुक्त हुने सुझाव दिएको छ ।

प्रधानमन्त्री ओलीले जाडो समय अगावै हुने गरी चुनावको मिति तय गर्न र मितव्ययीता अपनाउन आग्रह गर्नुभएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । चुनावको मिति घोषणाअघि आयोगले सम्बन्धित तहमा मतदाता नामावली अद्यावधिकका लागि आह्वान गर्ने आयोगले जानकारी गराएको छ ।

छलफलमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव लीलादेवी गड्तौलालगायत पनि सहभागी हुनुहुन्थ्यो । स्थानीय तह निर्वाचन ऐन २०७३ मा जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख, नगर वा गाउँपालिकाका मेयर/उपमेयर, अध्यक्ष/उपाध्यक्ष एवम् वडाअध्यक्षको पदावधि समाप्त नहुँदै पद रिक्त भएमा बाँकी पदावधिका लागि निर्वाचन आयोगको परामर्श लिई सरकारले तोकेको मितिमा उपचुनाव गर्ने उल्लेख छ । आयोगको तथ्याङ्क अनुसार नगरपालिकाका मेयर एक, उपमेयर एक, गाउँपालिकाका अध्यक्ष दुई, उपाध्यक्ष दुई, वडाध्यक्ष २८ गरी ३४ पद रिक्त छ ।

Leave A Reply

Your email address will not be published.