पाकिस्तानी गोलाबाट धन्न बाँचियो…

0

६१ वर्षीय गणेशबहादुर गुरुङ अनुशासन, मिहेनत र लगनप्रति समर्पित व्यक्तित्व हुन् । २४ वर्ष भारतीय सेनामा जीवन बिताएका गुरुङ पौरखी हात भएका आँटिला मान्छेको सम्मान गर्न मन पराउँछन् । विसं २०११ मङ्सिर ४ गते बुबा धनबहादुर गुरुङ र आमा मन कुमारीको कोखकाट जेठो सन्तानका रुपमा पर्वतको भङ्गारा–६ को भङ्गार रोहटीमा जन्मेका हुन् । जन्मथलोकै स्थानीय भैरब माविमा कक्षा ८ मा पढ्दै गर्दा लाहुरे बन्ने रहरले उनलाई पिरोलेको थियो । लाहुरे परिवार र गाउँमा जन्मे हुर्केका गणेश चाडबाडका बेला घर आएका लाहुरेको जीवनशैली र ठाँटबाट उनको मनले डाहा मान्न थाल्थ्यो । लाहुरेको फूर्ति र हाउभाउले लोभिएका गणेश केही गरी आफू पनि लाहुरे बन्न पाए साँच्चिकै जीवन सार्थक हुन्थ्यो भन्ठान्थे ।
मनमा पलाएको लाहुरे बन्ने रहरलाई जीवन्त पार्न अन्तत उनी सफल बने । २० वर्षे जवानीमा इस्वी संवत् १९७३ मा पल्टनमा भर्ना भए । कापी, किताब, कलम र झोलासँग रमाउने समयमा राइफल, गोली, ग्रिनेडसँग खेल्न र रमाउन थाले । जीवनका २४ वर्ष भारतीय सेनामा बिताएका गणेशले पल्टनमा सुख मात्र होइन अनगिन्ती दुःख र कष्टमय घुम्ती पार गरेका छन् । सन् १९८५ मा पाकिस्तानसँग भएको भारतको युद्धमा पनि उनी लडेका थिए ।
भारतीय सेनाका निम्ति खाद्यान्न, गोलाबारुद र अत्यावश्यक सैन्य सामग्री ओसार्ने काममा उनी खटिएका रहेछन् । हिउँले भरिएको हिमाली विकट ठाउँमा चलाउन सकिने सोनी स्कुटरमा सैन्य सामग्री ओसार्नु कम्ती चुनौतीपूर्ण थिएन, उनी अहिले पनि सम्झेर झस्किन्छन् । पाकिस्तानी सेनाले फालेको गोला र बम कहिले अघि र कहिले पछाडि खस्थ्यो, पल्टनका कयौँ साथी घाइते र सहिद बने, आफू भाग्यले बाँचियो, उनी भन्छन् ।
गोर्खालीको सैन्य पराक्रमले पाकिस्तानी सेनालाई पछि फर्कन बाध्य बनाइएको उनको अनुभव छ । पल्टने जीवनमा सिकाइएको इलम अहिले उनको गतिलो आयस्रोत बनेको छ । विसं २०५५ सालमा भारतीय सेनाको हबल्दार पदबाट अवकाशपश्चात् पेन्सन पाइरहेका छन् । पल्टनमा रहँदा पाएको मोटर मेकानिकको डिएमएम कोर्सले अहिले उनलाई आम्दानीको बाटो त बनाइदियो सँगै पुनर्वासका ६ जना स्थानीय युवालाई समेत रोजगार बनाउने साइत जुराइदियो ।
उनी भन्छन्, “धन्य छ पल्टनको त्यो आइडिया । पल्टनमा रहँदा सिकेको मोटर मर्मतको सीप अहिले बूढेसकालमा सुखदुःखको साथी बनेको छ । ६ वर्षअघि पुनर्वासको आइबिआरडीमा खोलेको गुरुङ अटोबाट मासिक रु २० हजार देखि रु ३० हजारको कमाई गरिरहेको गणेश गुरुङ बताउँछन् । आफ्नो र परिवारको जीविका चलाउन मासिक रुपमा आउने पेन्सनको रकम पर्याप्त भएपनि पुनर्वासमा बिना काम बरालिएर हिँड्ने युवा जमातलाई काम र पेसाप्रति सम्मान जगाउन र रोजगारीका लागि घरमै बसेर वैँशको ऊर्जा स्वदेशको माटोमा लगाउन प्रेरित गर्न र आत्मनिर्भरताको परिचय दिलाउन प्रेरणा बनोस् भनेर बूढेसकालमा आफू यस व्यवसायमा लागेको उनको भनाइ छ ।
पाकिस्तानी सेनाको गोला र गोलीबाट ज्यान बचेका सैनिक जवान गुरुङ ६१ वर्षे उमेरमा समेत तन र मन दुबै हिसाबले तन्नेरी र फूर्तिला देखिन्छन् । बूढेसकालमा पनि स्वस्थ र गठिलो जीउको राज के हो त ? प्रश्न गर्दा हाँसेरै जवाफ दिन्छन्, फौजी जीवनमा थुप्रै खेल र व्यायाम सिकेका रहेछन् । अहिले पनि बिहान सबेरै उठेर नित्यकर्म सक्नासाथ व्यायाम र खेलकुदमा समय बिताउँदा रहेछन् । भलिबल, ह्यान्डबल र बास्केटबलका निपुण खेलाडीसमेत रहेछन् ।
खेलमा सबैभन्दा प्रिय चाहिँ बास्केटबल रहेछ । पल्टनमै रहँदा बास्केटबलको कोच भएर दक्ष खेलाडी उत्पादन गरिसकेकाले यहाँ पनि अवसर र मौका पाए कोच बनेर खेलाडी जन्माउन लाग्ने रहर रहेको पूर्वफौजी गणेश गुरुङ बताउँछन् । जवानीमा छँदा राइफल र ग्रिनेड चलाउन सिपालु अहिले भने रेन्चीमा अब्बल पौरखी हात, पुनर्वासको आत्मनिर्भरतासँगै यहाँका युवालाई आर्थिक समृद्धिको बाटो देखाउन अग्रसर ती फौजीलाई सलाम !

Leave A Reply

Your email address will not be published.