उपराष्ट्रपतिका लागि पुन र यादव भिड्ने

0

उपराष्ट्रपति पदको निर्वाचनका लागि दुईजनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराउने समयमा चारजनाको उम्मेदवारी परेकामा दुईजनाले उम्मेदवारी फिर्ता लिएका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट एकीकृत नेकपा माओवादीका पूर्वलडाकू कमान्डर नन्दकिशोर पुनको उम्मेदवारी दर्ता भएको छ । गठबन्धनका नेताहरुले शुक्रबार व्यवस्थापिका–संसद भवन नयाँ बानेश्वर पुगेर पुनको उम्मेदवारी दर्ता गराएका हुन् ।
पुनको प्रस्तावकमा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल रहनुभएको छ भने समर्थकमा राप्रपा नेपालका दिलनाथ गिरी, फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीलगायत छन् ।
यसैगरी, प्रमुख विपक्षी दल नेपाली कांग्रेसले अमियकुमार यादवको उम्मेदवारी दर्ता गराएको छ । उनको प्रस्तावकमा नेपाली कांग्रेसका मुख्य सचेतक चीनकाजी श्रेष्ठ र समर्थकमा सचेतक ईश्वरी न्यौपाने रहेका छन् । उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएका स्वतन्त्र सांसद अतहर कमाल मुसलमान र परिवार दलका दयाराम कँडेलले भने उम्मेदवारी फिर्ता लिएका छन् ।
उपराष्ट्रपति चयनका लागि व्यवस्थापिका संसदमा शनिबार ११ बजेदेखि २ बजेसम्म गोप्य मतदान हुने छ । शनिबार दिउँसो साढे २ बजेदेखि मतगणना हुने र अपराह्न ५ बजे निर्वाचन परिणाम घोषणा गरिने संसद सचिवालयले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.