विश्वकप खेलेर नेपाली क्रिकेट टोली स्वदेश आइपुग्यो

0

आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिता खेलेर नेपाली राष्ट्रिय टोली स्वदेश आइपुगेको छ । नेपाली टोलीलाई आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाली टाेली बुधवार राति र बिहीवार बिहान गरी दुई वटा समूहमा बाँडिएर स्वदेश फर्किएको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करण केसी र अविनाश बोहरालगायतको समूह बुधवार राति १० बजे विमानस्थलमा ओर्लिएको थियो भने कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, सागर ढकाल, सन्दीप जोरालगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

अमेरिका र वेस्ट इन्डिजमा भएको प्रतियोगितामा नेपाल समूह चरणभन्दा अगाडि जान सकेन । नेपालले चार खेल खेलेकोमा तीनमा हार बेहोर्दा एक खेल बराबरी भएको थियो । नेपाल विश्वकपको समूह ‘डी’ मा परेको थियो । यो समूहमा नेपालसँगै दक्षिण अफ्रिका, बङ्ग्लादेश, श्रीलङ्का र नेदरल्यान्ड्स रहेका थिए ।

अमेरिकामा भएको आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्सँग ६ विकेटले पराजित भएको थियो । यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द भएपछि दुवै टोलीले समान एक अङ्क पाएका थिए । त्यसपछि वेस्ट इन्डिजमा भएको तेस्रो खेलमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको थियो । त्यस्तै समूह चरणको अन्तिम खेलमा नेपाल बङ्ग्लादेशसँग २१ रनले पराजित भएको थियो ।

समूह ‘डी’ बाट दक्षिण अफ्रिका र बङ्ग्लादेश सुपर आठमा पुग्दा नेपाल, श्रीलङ्का र नेदरल्यान्ड्स प्रतियोगिताबाट बाहिरिएका थिए ।

Leave A Reply

Your email address will not be published.