म्याच फिक्सिङ आरोपित खेलाडी कड्किए

0

काठमाडौं, १० कात्तिक । खेल मिलेमतोका आरोपमा पक्राउ परेका पाँचजना वर्तमान तथा पूर्वराष्ट्रिय फुटबल खेलाडीलाई मंगलबार अदालतमा उपस्थित गराइएको छ । काठमाडौं प्रहरी परिसरको हिरासतमा रहेका पाँचै खेलाडीलाई मंगलबार म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइएको हो । राज्यविरुद्धको अपराध ऐन २०४६ अन्तर्गतका मुद्दा विशेष अदालतले हेर्ने भएकाले खेलाडीहरुलाई विशेष अदालत लगिएको हो ।
अदालतमा उपस्थितिका लागि पुर्‍याइएका राष्ट्रिय टिमका कप्तान सागर थापाले आफूहरु निर्दोष भएको बताएका छन् । थापाले सन्चारमाध्यमलेसमेत आफूहरुलाई दोषी जस्तो व्यवहार गरेको भन्दै दुःख व्यक्त गरे । प्रहरीले ‘म्याच फिक्सिङ’को आरोपमा राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापा तथा खेलाडीहरु सन्दीप राई र रितेश थापासहित पूर्वखेलाडी अन्जन केसी र विकाससिंह क्षेत्रीलाई गत असोज २७ गते पक्राउ गरेको थियो ।
आरोपित सबै खेलाडीलाई एसियाली फुटबल महासंघ र एन्फाले पनि तत्कालका लागि प्रतिबन्ध लगाएको छ । अनुसन्धान सकिएर अदालतले अन्तिम फैसला सुनाएपछि मात्रै यी खेलाडीका विषयमा एएफसी र एन्फाले पनि अन्तिम निर्णय गर्नेछ । प्रारम्भिक छानबिनको क्रममा अन्य खेलाडी तथा केही पदाधिकारीहरुसमेत मुछिने आशंका गरिए पनि प्रहरीले अनुसन्धानको थप विवरण भने सार्वजनिक गरेको छैन ।

Leave A Reply

Your email address will not be published.