संसदमा तनाव भएपछि संसदीय छानबिन समिति गठनको मुद्दा थप पेचिलो

0

संसदमा विहीबार सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच तनाव भएपछि सहकारी अपचलनमा संसदीय छानबिन समिति गठनको मुद्दा थप पेचिलो बनेको छ । सहकारी अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको दाबी गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

हिजो संसद बैठक बस्नुअघि यस विषयमा दलहरु सहमतिको नजिक पुगेको भनिए पनि त्यसपछि संसदमा भएको तनावले अविश्वास बढाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले अब संसदीय समिति गठन नहुने घोषणा गरेको छ । कांग्रेसले यस विषयमा अब वार्ता नहुने र सरकारले निशर्त समिति गठन नगरेमा सदनको कामकारबाही अगाडि नबढ्ने चेतावनी दिएको छ ।

हिजो संसदमा तनावको स्थिति बन्नुमा सत्तापक्ष र प्रतिपक्षले एक–अर्कालाई दोष लगाएका छन् । कांग्रेसका सांसदहरुले नाराबाजी गरिरहेको बेला सभामुख देवराज घिमिरेले संसदलाई कार्यसूचीमा अगाडि बढाउनुभएको थियो । उहाँले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि संसदमा तनावको अवस्था सिर्जना भएको हो ।

गृहमन्त्रीलाई रोक्न कांग्रेस उपसभापति धनराज गुरुङ सत्तापक्षको लहरमै पुगेपछि कांग्रेस र एमाले सांसदबीच धकेलाधकेल भएको थियो । यो घटनापछि कांग्रेस र रास्वपाबीच भइरहेको सम्वाद तत्कालका लागि बिथोलेको छ । कांग्रेस महामन्त्री गगनकुमार थापाले अब कुनै छलफलमा नबस्ने बताउनुभएको छ भने रास्वपा सहप्रवक्ता मनिष झाले संसदीय समिति नै नबन्ने प्रतिक्रिया दिनुभएको छ ।

नीति तथा कार्यक्रम पास गरेर बजेटको तयारीमा लाग्नुपर्ने बेला सदनमा टकराव बढेपछि सरकार थप दबाबमा परेको छ । हिजो कांग्रेसको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेको लागि बोलाइएको छ । त्यसअघि दलहरु आन्तरिक छलफलमा जुट्दैछन् ।

Leave A Reply

Your email address will not be published.