जग्गा सट्टापट्टाको निर्णय कांग्रेसको होइन : देउवा

0

काठमाडौँ \  पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले झापाको गिरीबन्धु चिया बगानको जग्गा सट्टापट्टा गर्ने निर्णय आफ्नो पार्टी नेतृत्वको कुनै सरकारले पनि नगरेको प्रस्ट पार्नुभएको छ । प्रजातान्त्रिक विचार समाजको २६ औँ साधारण सभा तथा लोकतान्त्रिक योद्धालाई सम्मान गर्न काठमाडौँमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले कांग्रेस नेतृत्वको कुनै पनि सरकारले गिरीबन्धु टी स्टेटको जग्गा साटफेरको निर्णय नगरेको बताउनुभएको हो ।

उहाँले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालादेखि आफ्नो नेतृत्वको सरकारसम्म आउँदा यस सम्बन्धमा कुनै निर्णय र छलफल नभएको बताउनुभयो । उहाँले कांग्रेसका सन्दर्भमा आएका अभिव्यक्ति गलत रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो निर्णय कांग्रेसको पालामा भएको होइन ।”

सभापति देउवाले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थालाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले प्रजातन्त्र प्राप्तिका लागि योगदान दिनुभएका राजनीतिज्ञ योगप्रसाद उपाध्यायलाई राजनीतिक परिवर्तनको खाका कोर्ने व्यक्तिका रूपमा सम्मान व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “२०१७ सालदेखि निर्वासनमा बसेर नेपाल फर्किएपछि प्रजातन्त्रकै पक्षमा सङ्घर्ष गर्नुभयो । नेपालको राजनीतिमा उहाँको योगदान महत्वपूर्ण छ ।”

Leave A Reply

Your email address will not be published.