स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री

0

काठमाडौँ \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य क्षेत्रमा नयाँ नयाँ चुनौतीहरू देखा परिरहेकाले त्यसतर्फ सचेत रहनुपर्ने बताउनुभएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले स्वास्थ्य क्षेत्रमा देखा पर्ने समस्या समाधान गर्नमा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

“स्वास्थ्य क्षेत्रमा आउन सक्ने जस्तोसुकै चुनौतीको सामना र व्यवस्थापनका लागि प्रतिष्ठानले थप पूर्वाधारहरूको विकास गर्नुपर्छ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन विशेष जोड दिइनेछ ।”

नेपालको अधिकांश भू–भाग ग्रामीण क्षेत्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण क्षेत्रमा स्तरीय स्वास्थ्योपचारका लागि दक्ष तथा सामाजिक उत्तरदायित्वको भावनाबाट प्रेरित चिकित्सक उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सेवाको पहुँच ग्रामीण स्तरसम्म विस्तार गर्दै जानुपर्ने खाँचो औँल्याउँदै प्रधानमन्त्रीले सार्वजनिक स्वास्थ्य संस्थाहरू सबल र सुदृढ भए मात्र आम नेपालीले सर्वसुलभ स्वास्थ्योपचार सेवा प्राप्त गर्न सक्ने तथ्य कोभिड–१९ महामारीले स्पष्ट पारेको बताउनुभयो ।

सरकारले सबै सार्वजनिक अस्पतालहरूको क्षमता विकासलाई उच्च प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “स्वास्थ्य सेवामा सबैको पहुँच, सेवाको गुणस्तरीयताका साथै समुदायमा मानव स्वास्थ्यलाई प्रभाव पार्ने सामाजिक, सांस्कृतिक, वातावरणीय कारक तत्त्व पहिचान सहितको विशिष्ट कृत स्वास्थ्य सेवा उपलब्ध गराउन प्रतिष्ठानले अझै पहलकदमी लिनुपर्छ ।”

प्रतिष्ठानले हाल स्थानीय सरकारसँगको सहकार्यमा स्वास्थ्य बिमा कार्यक्रम तथा समुदायमा आधारित सेवा प्रवाह गर्नु सबैको लागि अनुकरणीय कार्य भएको उहाँले उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले देशभित्रका सबै चिकित्सा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानको व्यवस्थापन, सञ्चालन र नियमनका लागि चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा रहेको दोहोरोपन हटाउन र एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न आवश्यक भएको बताउनुभयो ।

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “सबै नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सबै स्वास्थ्य संस्था, सामुदायिक अस्पताल एवं सहकारी अस्पतालहरूको क्षमता विकासमा ध्यान दिनै पर्दछ ।” नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्नेतर्फ सरकारले आवश्यक तयारी गरिरहेको उहाँले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.