दुःख गर्दै दसैँ मान्न घर जाने बढे

0

काठमाडौँ, २९ असोज । दसैँ सुरु भएसँगै दुःख गरेर उपत्यकाबाट घर जानेहरुको सङ्ख्या बढेको छ । भारतले गरेको अघोषित नाकाबन्दीले इन्धन अभाव भए पनि छतमा बसेर समेत यात्रु यात्रा गर्न बाध्य छन् । उपत्यका भित्रिने र बाहिरिने नाका थानकोट, फर्पिङ, जगाती र नागार्जुन नाकाबाट घटस्थापनापछिका तीन दिनमा मात्र दुई लाख ६ हजार ३८६ मानिस उपत्यकाबाट बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका सह—प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाल आयल निगमले लामो दुरीका सार्वजनिक सवारी साधनलाई इन्धन दिएसँगै उपत्यकाबाट बाहिरिने सवारी साधनमा वृद्धि आएको हो ।” भट्टले उपत्यकामा भने पहिलेको तुलनामा २५ देखि ३० प्रतिशत मात्र सवारीसाधन चलेको बताउनुभयो ।
यस्तै यात्रुको सहजताका लागि नेपाल प्रहरी, यातायात व्यवसायी, यातायात विभागको सहकार्यमा उपत्यकाको नयाँ बसपार्क, पुरानो बसपार्क, बल्खु, कलङ्की, नागढुङ्गा, एयरपोर्टलगायतका १२ स्थानमा नागरिक सहायता कक्ष राखिएको छ । सवारी साधनमा बढी भाडा लिने गरेको आरोपमा बिहीबार कलङ्की क्षेत्रबाट तीन जनालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत्त कालिमाटी पठाइएको महाशाखाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.