कांग्रेसले उम्मेदवारी नदिएपछि घर्ती सभामुख

0

काठमाडौं, २९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सभामुख र उपसभामुख पदमा उम्मेदवारी नदिने भएको छ । शुक्रबार बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले सभामुख र उपसभामुख पदमा हुने निर्वाचनमा तटस्थ भूमिका निर्वाह गर्ने निर्णय गरेको हो । पार्टी सभापति सुशील कोइरालाको महाराजगन्जस्थित निवासमा बसेको पदाधिकारी बैठकले सभामुख र उपसभामुख पदमा उम्मेदवारी नदिने निर्णय गरेको पार्टी प्रवक्ता दिलेन्द्रप्रसाद बडुले जानकारी दिए । बडुका अनुसार सभामुख र उपसभामुख पक्ष र विपक्षी नहुने भएकाले कांग्रेसले ती पदमा उम्मेदवारी नदिने निर्णय गरेको हो । उनले राष्ट्रपति र उपराष्ट्रपति पदमा भने अन्य दलहरुसँग छलफल गरी उम्मेदवारी दिने तयारी भइरहेको जानकारी दिए ।
कांग्रेसको निर्णयसँगै सभामुख र उपसभामुख पदमा सत्तारुढ नेकपा एमाओवादीकी ओनसारी घर्ती मगर सभामुख र उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादव निर्वाचित हुने निश्चित छ । सत्तारुढ गठबन्धनले सभामुखमा एकीकृत माओवादीकी ओनसरी घर्ती मगर र उपसभामुखमा राप्रपा नेपालका गंगाप्रसाद यादवलाई उम्मेदवार बनाएको छ । दलहरुले सहमतिबाट सभामुख र उपसभामुख चयन गर्न नसकेपछि आज चुनाव हुन लागेको हो । संसद् सचिवालयले उम्मेदवारी मनोनयनका लागि आज साढे ११ बजेदेखि २ बजेसम्मको समय तय गरेको छ । सभामुखका लागि ३ बजे र उपसभामुखका लागि ५ बजे संसदमा मतदान हुनेछ ।

Leave A Reply

Your email address will not be published.