प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गर्दैः मुख्यमन्त्री जम्कट्टेल

0

हेटौंडा  \ बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार कुरामा मात्र नभई काममा सिद्ध भएको बताउनुभएको छ । प्रदेश सभा स्थापना दिवसको अवसरमा विहीबार हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सरकार स्पष्ट नीतिका साथ काम गर्न अघि बढेको बताउनुभयो ।

सरकारको कामले जनता संघीयता र यस व्यवस्थाको पक्षमा रहेको बताउँदै प्रदेश सरकार विकासमा सबैको साझा मुलमन्त्र लिएर काम गरिरहेको बताउनुभयो । अब निराशा भन्दा पनि आशावादी लिएर सबैले काम गर्ने हो भने संघीयताको मर्म बच्ने बताउनुभयो । उहाँले नकरात्मक टिप्पणीहरु गरेर जनतालाई भ्रममा नपार्न प्रतिपक्षलाई आग्रह समेत गर्नुभयो । अब निराशा होईन सुनौलो व्यवस्था ल्याउन आफु नेतृत्वको प्रदेश सरकार लागिपरेको बताउँदै उहाँले प्रदेशमा दशवटा अस्पतालको स्तरोउन्नती गर्नु ठुलो क्रान्ती भएको बताउनुभयो ।

उद्योग व्यवसाय क्षेत्रमा विभिन्न नीतिहरु ल्याएर कच्चा पदार्थ उत्पादनमा जोड दिन प्रदेश सरकार लागि परेको बताउनुभयो । प्रदेश भित्रका विद्यालयलाई आवासीय ढङ्गले सञ्चालन गरिनुका साथै उहाँले माध्यामिक तहमै प्राविधिक शिक्षाहरु अध्ययन गराउनुपर्ने र विश्वविद्यालय स्थापनाको लागि प्रदेश सरकार अन्तिम तयारीमा रहेको बताउनुभयो । चिकित्सा शिक्षा नीतिको काँडेतार भत्काएर सामान्य नागरिकको पहुँच पुग्ने गरी नीति बनाई कार्यान्वयन गर्ने पक्षमा रहेको भन्नुहुँदै कृषि नीति, उद्योग नीति निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो ।

उहाँले भौतिक पूर्वाधार क्षेत्रमा पनि सरकारले विभिन्न कामहरु गरिरहेको र आगामी वर्षमा ५० लाख भन्दा कमका योजनाहरु स्थानीय सरकारलाई दिने बताउनुभयो । प्रदेश सभा छैटौं वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेकोमा शुभकामना व्यक्त गर्दै आगामी दिनमा प्रदेश सभा अझै सुव्यवस्थित हुने अपेक्षा व्यक्त गर्नुभयो ।

प्रदेशका सभामुख भुवन कुमार पाठकको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा पूर्व मुख्यमन्त्री डोरमणी पौडेल, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दलका नेता जगन्नाथ थपलिया, कांग्रेस संसदीय दलका नेता एंव आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिं लामा लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.