‘दलितका अधिकार कार्यान्वयन भएन’

0

हेटौंडा \ मकवानपुरका दलित समुदायका अगुवाहरुले संविधानमा उल्लेख भएका दलितका अधिकार कार्यान्वयन नभएको धारणा राखेका छन् । बागमती प्रदेश दलित सशक्तिकरण विधेयक निर्माणका लागि दलित महिला संघ (फेडो) ले आइतबार हेटौंडामा आयोजना गरेको सरोकारवालासँगको अन्तरक्रिया कार्यक्रमका सहभागीले यस्तो गुनासो गरेका हुन् ।

संविधानमा दलित अधिकारका विषयमा धेरै कुरा उल्लेख भएपनि कार्यान्वयन भने फितलो रहेको उनीहरुको भनाई थियो । दलित अधिकारकर्मी कमलकुमार विश्वकर्माले दलित अधिकारका विषयलाई सबैले अपनत्व ग्रहण गर्नुपर्ने धारणा राखे । ‘संविधानमा धेरै कुरा लेखियो तर कार्यान्वयन भएन’, उनले भने, ‘विधेयक माथि आवश्यक छलफल पश्चात संसद्बाट पारित गरेर ऐन निर्माण गरियोस् । प्रदेश सरकारको यसै कार्यकालमा विधेयक बनोस् भन्ने अपेक्षा गरेका छौं ।’

कार्यक्रममा बागमती प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री एकालाल श्रेष्ठले दलित अधिकारका विषयमा मीठो कुरा गरेर मात्र कार्यान्वयन नहुने धारणा राखे । उनले मुलुकमा व्याप्त सबैखाले विभेदको अन्त्य हुनुपर्नेमा जोड दिए । ‘दलित सशक्तिकरण विधेयक संसदमा प्रश्तुत भएमा छलफलसहित ऐन बनाउन सहयोग गर्न तयार छौं’, उनले भने, ‘संविधानमा लेखिएका सबै विषय कार्यान्वयन हुन जरुरी छ ।

तीनै तहको सरकारले यस विषयलाई गम्भीर रुपमा लिनुपर्छ ।’ दलित अधिकार एवम् भेदभावका विषयमा पछिल्लो समय चेतना बढ्दो क्रममा रहेपनि दलित भएकै कारण विभिन्न घटना बढ्दो क्रममा रहनु दुखद् भएको श्रेष्ठको भनाई थियो ।दलित महिला संघ मकवानपुर अध्यक्ष पवित्रा विश्वकर्माको अध्यक्षतामा कार्यक्रम भएको हो । दलितको अधिकारका निम्ति विधेयक र ऎन आवश्यक रहेकोले निरन्तर अभियान सञ्चालन गरिने उनले बताइन् ।

Leave A Reply

Your email address will not be published.