काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको ‘हब’ बनाउनुपर्ने बताएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रस्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट समेत विद्यार्थीहरू आउन थालेको जानकारी पाउँदा आफूलाई खुसीको महसुस भएको बताए ।
आगामी दिनमा सेवा प्रवाहलाई थप सरल, सहज र गुणस्तरीय बनाउनुपर्ने जिम्मेवारी प्रतिष्ठानको भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले प्रतिस्पर्धी समाज, राष्ट्र र विश्वका निम्ति योग्य, दक्ष, इमानदार, दक्ष र देशभक्तिपूर्ण भावनाले ओतप्रोत जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए। पछिल्ला वर्षहरूमा प्रतिष्ठानले उल्लेख्य प्रगति गरेको आफूले महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले नवप्रवर्तनमा आधारित अध्ययन, अनुसन्धान र आविष्कारमा समेत प्रतिष्ठानले गम्भीरतापूर्वक पहल लिने विश्वास व्यक्त गरे ।