नौ महिनापछि स्वदेश पुग्ने भयो शव

0

नौ महिनादेखि साउदी अरबमा अलपत्र परेको धनकुटाका पूर्णबहादुर श्रेष्ठको शव स्वदेश पठाइएको छ । सवारी दुर्घटनामा परी ज्यान गुमाएका श्रेष्ठको शव बिहीबार राति स्वदेश पठाइएको हो ।
रोजगारदाता कम्पनीसँग चलेको प्रक्रिया नटुङ्गिए पनि शव पठाउन धेरै ढिलाइ भएका कारण दूतावासले खर्च व्यवस्थापन गरेर शव पठाएको साउदीका लागि कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माले बताउनुभयो । शव पठाइए प्रक्रिया नमिलेसम्म क्षतिपूर्तिका लागि दूतावासले निरन्तर पलोअप गर्ने उहाँले बताउनुभयो ।
दमामस्थित सेन्ट्रल अस्पतालको शवगृहमा राखिएको श्रेष्ठको शव पहिचान गरेर ओमान एअरको जहाजमार्फत बिहीबार राति नै स्वदेश पठाइएको एनआरएन साउदीका पूर्वी क्षेत्रीय उपाध्यक्ष ढलबहादुर थापाले जानकारी दिनुभयो । पाउनुपर्ने तलब, क्षतिपूर्ति तथा शव पठाउने खर्चका विषयमा रोजगारदाता कम्पनीसँग कुरा मिल्न नसक्दा श्रेष्ठको शव पठाउन ढिलाइ भएको थियो ।
रोजगारीका लागि मेनपावर कम्पनीमार्फत ४ वर्षअघि साउदी आएका श्रेष्ठको सवारी दुर्घटनामा परी गत डिसेम्बरमा मृत्यु भएको थियो । उनी साउदीस्थित क्याट्को कम्पनीमा कार्यरत थिए । दुर्घटनामा परेको सवारीसाधन रोजगारदाता कम्पनीले आफ्नो नभएको कारण देखाउँदैे क्षतिपूर्ति तथा शव पठाउने खर्च दिन आनाकानी गर्दै आएको छ । केही दिनअघि मात्र श्रेष्ठको शव पठाउन ढिलाइ भएको विषयमा समाचार प्रकाशित प्रसारित भएपछि दूतावासले शव पठाउन चासो देखाएको हो ।

Leave A Reply

Your email address will not be published.