सुवेदीलाई अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार

0

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिका (अनेसास) ले हरेक दुई दुई वर्षमा प्रदान गर्दै आइरहेको अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कार– २०१५ म्याग्दीका साहित्यकार रामप्रसाद सुवेदीलाई प्रदान गर्ने भएको छ । साहित्यकार सुवेदीको म्याग्दी : स्रष्टा र सृष्टि (समालोचना) कृति धौलागिरि अञ्चलका साहित्यकारका कृतिमध्ये सबैभन्दा उत्कृष्ट कृति रहेको ठहर गर्दै एक हजार ५०० यु एस डलर नगद, थप १०० डलर बराबरको आजीवन सदस्यता र सम्मानपत्रका साथ उहाँलाई सो पुरस्कार प्रदान गर्ने अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले जानकारी दिनुभयो ।
साहित्यकार सुवेदीसहित संसारभरि छरिएर रहेका नेपाली साहित्यकारमध्ये विभिन्न विधाका दुई दर्जनभन्दा बढी साहित्यकार पनि पुरस्कृत हुने अनेसासले जनाएको छ ।
अनेसासद्वारा घोषणा भएका सम्पूर्ण पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीको अवसर पारेर अमेरिकाको राजधानी वासिङ्गटन डिसीमा प्रदान गरिने संस्थापक अध्यक्ष सुवेदीले बताउनुभयो । नेपाल र नेपालीलाई भाषा साहित्यको माध्यमबाट अन्तर्राष्ट्रिय जगत्मा चिनाउने र नेपाललाई गौरवान्वित बनाउनमा विशेष योगदान दिने साहित्यकार स्रष्टाहरुलाई प्रदान गरिने सो पुरस्कारबाट पुरस्कृत कृतिलाई यस वर्षदेखि अङ्ग्रेजी भाषामा अनुवाद गरी बिक्री वितरणको व्यवस्था पनि अनेसासले नै मिलाउने बताएको छ ।

Leave A Reply

Your email address will not be published.