हामी वीपीको स्कुलबाट दीक्षित हौँ, अप्ठेरो मान्नु पर्दैन : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समकालीन दल र तिनका नेता कुनै न कुनै रूपमा वीपी कोइरालाको स्कुलबाट दीक्षित भएको बताएका छन् । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले सोमबार गरेको कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री ‘प्रचण्ड’ ले वीपी कोइराला नेपाली राजनीतिको मूर्धन्य र महान् नेता भएको पनि बताए ।

‘हामी सबै समकालीन दल र नेताहरू कुनै न कुनै रूपमा वीपीको स्कुलबाट दीक्षित हौँ । यो भन्न अब कसैले अप्ठेरो मान्नुपर्ने रहेन’, प्रधानमन्त्री प्रचण्डको भनाई छ । प्रधानमन्त्री प्रचण्डले उच्चतम राजनीतिक व्यवस्था भनेको लोकतान्त्रिक गणतन्त्र मात्र भएको भन्दै यसमाथि प्रश्न उठाउनु कहीँ न कहीँ निरंकुशताको पक्षधरता हुने बताए ।

तर उनले यो कुरालाई जुन गम्भीरताका साथ जनतामा लानुपर्ने थियो त्यसमा आफूहरूले आत्म समीक्षा गर्नै पर्ने भएको बताए । ‘देशमा अहिले लोकतन्त्र र गणतन्त्र विरोधी भाष्य बनाउने जमर्को गर्ने दुस्साहस किन देखा परेको छ ? भन्दा हामीले यो विषयमा कहीँ न कहीँ आत्मसमिक्षा गर्नुपर्ने भएको छ’, प्रचण्डले भने, ‘हामी आफैलाई विकास सम्मृद्धिको आकाङ्क्षाअनुसार ढाल्न जरुरी छ ।’

उनले कार्यक्रमका लागि कांग्रेसलाई धन्यवाद दिँदै यो कार्यक्रम सबैले सङ्कल्प गर्ने अवसर भएको र त्यसअनुसार अघि बढे देश र जनताले चाहेको समृद्धि असम्भव नभएको बताए । त्यसक्रममा उनले यो गठबन्धनबाट जनतालाई समृद्धि दिनुपर्ने भन्दै आफूले सुरुमै राष्ट्रिय सहमतिको वातावरण बनाउनका लागि पहल गरेको भन्दै निर्वाचनपछि आफूले कांग्रेसलाई राष्ट्रपति दिन प्रस्ताव गरेको बताए ।

Leave A Reply

Your email address will not be published.