एमाओवादी भद्र सहमतिको पक्षधर

0

काठमाडौं, २२ असोज । एकीकृत नेकपा माओवादीले प्रमुख दलहरुबीच भएको पूर्वसहमति अनुसार सहमतिको सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको छ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा शुक्रबार बसेको पदाधिकारी बैठकले १६ बुँदे सहमति गर्दा भएको समझदारीअनुसार सहमतिको सरकार गठन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बहुमतीय सरकार गठनको प्रक्रिया शुरु भए पनि सबै दललाई समेटेर सहमतिको सरकार गठन गर्न सकिने ठहर एकीकृत माओवादीको छ । बैठकले प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमालेलाई आपसी समझदारी कायम गर्न आग्रह गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जनाए ।
बैठकले संविधान निर्माणको अन्तिम प्रक्रियामा सहभागी नभएका दलहरुलाईसमेत वार्ता र संवादमार्फत् सरकारमा सहभागी गराउनुपर्ने निर्णय गरेको छ । आन्दोलनरत दलहरुका माग वार्ता र संवादबाटै टुंगोमा पु-याउन सकिने भन्दै एकीकृत माओवादीले सहमतिबाटै संविधानमा आवश्यक संशोधन गर्न सकिने निष्कर्ष निकालेको छ । त्यसैगरी भारतले लगाएको अघोषित नाकाबन्दी हटाउनेतर्फ पहल गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय पनि बैठकले गरेको छ ।

Leave A Reply

Your email address will not be published.