बहुमतका आधारमा प्रधानमन्त्री चयन : सभामुख नेम्वाङ

0

काठमाडौं, २२ असोज । सभामुख सुवासाचन्द्र नेम्वाङ्ले राजनीतिक सहमतिका आधारमा नयाँ प्रधानमन्त्री चयन हुन नसकेकाले आजबाट बहुमतका आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ र शिक्षा विभागले सञ्चालन गरेको शिक्षा पत्रकारिता पुरस्कार, २०७१ वितरण कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले नयाँ संविधानमा भएको व्यवस्थाबमोजिम सहमतिका प्रधानमन्त्रीका लागि राष्ट्रपतिले दिनुभएको सात दिनको समय सकिएको र अवधि थपिने व्यवस्था नभएकाले संविधान, नियम र स्थापित अभ्यास अनुसार संसद्को बैठकले प्रधानमन्त्री चयनको प्रक्रिया प्रारम्भ हुने छ भन्नभयो ।
सभामुख नेम्वाङले सम्भवतः आउँदो आइतबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने गरी निर्वाचनका कार्यक्रम आउने जानकारी दिनुभयो । उहाँले संविधान जारी भएपछिको अवस्थामा सबै दल र जातजाति सुमधुर एकताका साथ अघि बढेर सकेसम्म सहमतिको सरकार बन्न सकेमा राम्रो हुने विश्वास पनि व्यक्त गर्नुभयो ।
सभामुख नेम्वाङले जनताका प्रतिनिधि संस्थाबाट लोकतान्त्रिक प्रक्रियाबाट संविधान ल्याएको र यो संविधान जनसहभागितामूलक, समावेशी र अद्वितीयसमेत भएको जिकिर गर्नुभयो । उहाँले ६०१ मध्ये जम्मा ६० जना मात्र सभासद्ले संविधानको मतदानका भाग नलिएको सन्दर्भमा यसलाई विधिसम्मत मान्न कुनै कन्जुस्याइँ गर्न नहुने तर्क गर्नुभयो ।
महासङ्घका अध्यक्ष डा महेन्द्र विष्टले शिक्षा क्षेत्रमा कार्यरत पत्रकारलाई प्रोत्साहनका लागि पुरस्कारका निरन्तरता गरिएको बताउनुभयो । रु ७५ हजार राशिको राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार यस वर्ष नारायण किलम्बु, जनक नेपाल र बाबुराम विश्वकर्मालाई संयुक्तरुपमा दिइयो । यस्तै विभिन्न क्षेत्रमा क्षेत्रीय पुरस्कार र पत्रकारलाई फेलोसिप वितरण गरियो भने संस्थागत (पत्रिका, रेडियो)तर्फ पनि पुरस्कृत गरियो ।

Leave A Reply

Your email address will not be published.