राप्रपा नेपाल सरकारमा जाने

0

काठमाडौं, २२ असोज । राप्रपा नेपालले कांग्रेस र एमालेबीच नयाँ सरकार गठनका बारेमा सहमति नभए आफू सरकारमा सामेल हुने संकेत गरेको छ । दुई प्रमुख दलबीच सहमति भएको अवस्थामा भने राप्रपा नेपालले ‘सकारात्मक प्रतिपक्षी’ भूमिका निर्वाह गर्ने जनाएको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले नयाँ सरकार गठनबारे ‘उपयुक्त समय’मा निर्णय लिन अध्यक्ष कमल थापालाई अधिकार दिएको छ ।
पार्टी अध्यक्ष थापाको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्रबाराहीमा आज बसेको बैठकले लामो समयदेखि सहकार्य गर्दै आएका दलबीच रहँदै आएको एकता कायम हुनुपर्छ भन्नेमा राप्रपा नेपाल दृढ रहेको पार्टीका सहायक महामन्त्री राजाराम श्रेष्ठले जानकारी दिनुभयो ।
पछिल्लो समयमा विकास भएको राजनीतिक घटनाक्रमको समीक्षा गर्दै बैठकले विगत मधेस क्षेत्रमा भएको आन्दोलन तथा भारतले लगाएको नाकाबन्दीको परिणामस्वरुप जनजीवन अत्यन्त असहज र कष्टकर हुन गएको भन्दै तत्काल त्यसको समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
पार्टीका सहप्रवक्ता मोहन श्रेष्ठले भन्नुभयो, “दसैँ, तिहार र छठ पर्वको पूर्वसन्ध्यामा यस प्रकारको कठिन परिस्थिति सिर्जना हुनु दुःखद र दुर्भाग्यपूर्ण भएको छ, त्यसको अन्त्य हुनुपर्छ ।” उहाँले आन्दोलनरत मधेस केन्द्रित दलसँग वार्ता गरी उनीहरुको मागलाई तत्काल सम्बोधन गर्नसमेत पार्टीले माग गरेको जानकारी दिनुभयो ।
अघोषित नाकाबन्दी तत्काल फिर्ता लिन तथा पारवहन व्यवस्था सुनिश्चित गर्न मित्रराष्ट्र भारत सरकारसँग आग्रह गर्दै बैठकले नाकाबन्दीको अन्त्य गर्न भारतसँग अविलम्ब प्रभावकारी कुटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ ।

Leave A Reply

Your email address will not be published.