संक्रमणकालीन न्याय छिट्टै निष्कर्षमा पुग्छ : प्रधानमन्त्री

0

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई टुंगोमा पुर्‍याउन आफूले लगातार पहल गरिरहेको बताएका छन्। ७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर आइतबार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले पीडितलाई न्यायको अनुभूति हुनेगरी संक्रमणकाललाई निष्कर्षमा पुर्‍याउन आफूले आम राष्ट्रिय सहमति बनाउनका लागि पहल गरिरहेको बताएका हुन्।

संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउन ढिलो भइरहेको स्वीकार गर्दै उनले विद्यमान कानूनमा सर्वोच्च अदालतको आदेश, राष्ट्रिय मानव अधिकार आयोगका सुझाव तथा सिफारिस र अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम परिमार्जन गरी न्यायको अनुभूति हुनेगरी सो कार्यलाई छिट्टै निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता पनि दोहोर्‍याए।

प्रधानमन्त्री दाहालले मुलुकमा मानव अधिकार संस्कृतिको विकास गर्न सरकार सदैव लागि परेको समेत बताए। प्रधानमन्त्री दाहालले राष्ट्रिय मानव अधिकार आयोग ऐनसम्बन्धी विधेयक संसदका आगामी अधिवेशनमा पेश गर्ने आश्वासन समेत दिए।

उनले जलवायु परिवर्तनका कारण मानव अधिकारका सबै आयामहरु जोखिममा परेकाले त्यसविरुद्ध जुध्ने र अनुकुलनका लागि वातावरण सृजना गरी मानव अधिकारको रक्षा गर्न सरकार संवेदनशील ढंगले लागि परेको पनि बताए।

Leave A Reply

Your email address will not be published.