छठ पूजा गर्न राष्ट्रपति पौडेल काठमाडौँका छठ घाटमा

0

काठमाडौ \  राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् ।

राष्ट्रपति पौडेल आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् । छठमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने चलन छ ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म छठ पर्व मनाउने गरिन्छ । यो परम्पराअनुसार अस्ति चतुर्थीदेखि छठपर्व शुरु भएको हो । यसपालि तिथिको घटबढका कारण हिजो पञ्चमी र षष्ठी तथा आज षष्ठी र सप्तमी तिथि परेको छ । तिथि घटबढ भए पनि यसवर्ष पनि पहिलेजस्तै चार दिन नै छठ पर्व मनाइने भएको हो।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास छ । छठमा बाँसका सामग्री, उखु, केरा, सुन्तला, स्याउ लगायतको बढी प्रयोग गरिन्छ ।

छठका लागि तराई मधेस र काठमाण्डौ उपत्यकाका नदी, तलाउ र जलाशय झकिझकाउ भएका छन् । पछिल्लो समय यो पर्व पहाडमा पनि धुमधामका साथ मनाइन्छ । मधेसी समुदायको भनेर मानिने छठ पूजा पहाडी समुदायमा पनि बढ्दै गएकोले सह–संस्कृतिको हिस्सा बन्दै गइरहेको छ ।

Leave A Reply

Your email address will not be published.