हामीले सुरु गरेको सुशासनको अभियान इतिहासकै पहिलो : प्रधानमन्त्री प्रचण्ड

0

रुकुमपूर्व \  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हाम्रो नेतृत्वको सरकारले सुरु गरेको सामाजिक न्याय र सुशासनको अभियान इतिहासकै पहिलो भएको बताउनुभएको छ। रुकुम पूर्वको मैकोटमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो।

उहाँले भन्नुभयो, “हिजो हामी संघीय लोकतान्त्रिक गणतन्त्रका निम्ति लड्यौं। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं। संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउँदै गर्दा हामीले अबको नेपाल राज्य समाजवाद उन्मुख हुनेछ भनेका थियौं। जबसम्म देशमा सामन्ती निरंकुशताको मात्रै होइन। दलाल पूँजीपति र नोकरशाही पुँजीपतिको हैकम पनि अन्त्य हुँदैन। तबसम्म नेपाली जनताले अन्तिम वास्तविक अर्थमा मुक्त भएको मान्न सकिँदैन।”  सोही कारण संविधान लेख्दा नै राज्य समाजवाद उन्मुख हुने भनेर लेखिएको उहाँको भनाइ थियो।

प्रधानमन्त्रीले भूमाफियाकोविरुद्ध अभियान सुरु गरेर हजारौँ जनतालाई राहत प्रदान गरिएको उल्लेख गर्दै त्यसका लागि आम जनताको सार्थक सहयोग जरुरी रहेको बताउनुभयो। प्रधानमन्त्रीले नियमित रुपमा भइरहेको सुन तस्करी नियन्त्रणका लागि सरकारले अभियान चलाएको र सो मुद्दा हाल अदालतमा विचाराधीन रहेको उल्लेख पार्नुभयो।

भ्रष्टाचार र तस्करी नियन्त्रणजस्ता देश विरोधी गतिविधिलाई माओवादी नेतृत्वको सरकारले मात्र नियन्त्रण गर्न सक्छ भन्ने तथ्य स्थापित भएकोसमेत प्रधानमन्त्रीको भनाइ छ। तराई–मधेसमा लामो समयसम्म सामन्तवादको अवशेषका रुपमा रहेको मिटरब्याजी विरुद्धमा कानुन बनाएर कारबाही गरी पीडित नागरिकलाई न्याय दिलाएकोसमेत उहाँले उल्लेख गर्नुभयो।

Leave A Reply

Your email address will not be published.