इजरायलमा मारिएका नेपालीकाे सम्झनामा भाेलि राष्ट्रिय शाेक, मृतकका परिवारलाई १० लाख राहत

0

इजरायलमा मारिएका १० जना नेपालीको सम्झनामा सरकारले भोलि मङ्गलवार राष्ट्रिय शोकको घोषणा गरेको छ ।

आज साेमवार बसेको मन्त्रिपरिषद् बैठकले भोलि राष्ट्रिय शोकको घोषणा गर्दै देशभरका सरकारी कार्यालय र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

यस्तै बैठकले मृतकका परिवारलाई १०–१० लाख रुपैयाँका दरले राहत उपलब्ध गराउने र इजरायलमा रहेका तथा स्वदेश आउन चाहने सबै नेपालीलाई विमान पठाएर स्वदेश ल्याउने पनि निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो ।

बैठकले परराष्ट्र मन्त्रालयमार्फत इजराजयल सरकारसँग समन्वय गरी ज्यान गुमाएका नेपालीको शव यथाशीघ्र स्वदेश ल्याउने पनि निर्णय गरेको छ । बैठकले इजरायल घटनाका बारेमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असर समेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आग्रह गरेको छ ।

इजरायलमा गएकाे शनिवार बिहान प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको आक्रमणमा नेपालबाट ‘इन्टर्न’ मा गएकामध्ये १० जना विद्यार्थीको ज्यान गएको थियो ।

Leave A Reply

Your email address will not be published.