काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यालय शिक्षा विधेयकले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गर्नुपर्ने बताउनुभएको छ ।
प्रतिनिधि सभामा शुक्रबार विद्यालय शिक्षा विधेयक, २०८० विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै महामन्त्री थापाले संविधान र पाठ्यक्रमले गरेको अपेक्षा पूरा गरेमात्रै शिक्षा विधेयकले सार्थकता पाउने बताउनुभएको हो । उहाँले विद्यालयमा पढिरहेको विद्यार्थी पढिसके पछाडी त्रिभुवन विश्वविद्यालयतिर जान्छु भन्ने नभइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतिर जाने गरेको बताउनुभयो ।
महामन्त्री थापाले विद्यालय शिक्षा विधेयकलाई टुंगोमा पुर्याउनुपर्ने जिम्मा अब सांसदको हातमा रहेको बताउनुभयो । उहाँले वृहत छलफल गरेर उल्टो भएको विधेयकलाई सुल्टो बनाउन जरुरी रहेको बताउनुभयो । शिक्षण पेशालाई आकर्षक, मर्यादित पेशा बनाउनुपर्ने उहाँको भनाई छ ।
महामन्त्री थापाले शिक्षकहरुको तलब सबैभन्दा उच्च हुनुपर्ने भन्दै शिक्षकका सकारात्मक कुरालाई ग्रहण गर्नुपर्ने बताउनुभयो । उहाँले एक वर्ष नै लागेपनि यो संसदले विधेयक बनाइसकेपछि अर्को १५–२० वर्ष नेपालको विद्यालय शिक्षालाई यसले मार्ग दर्शन गर्ने बताउनुभयो । विद्यालय शिक्षा विधेयकलाई संघीयतासँग जोड्न जरुरी रहेको बताउनुभयो ।