सामाजिक सञ्जालबाट विद्वेष फैलाउनेलाई कारबाही गरिने

0

बाँके \  जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने जोसुकैलाई कारबाही गर्ने निर्णय गरेको छ ।

सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट सामाजिक सद्भाव भड्काउने, धार्मिक विद्वेष फैलाउने तथा कसैको धार्मिक आस्थामा आँच आउनेजस्ता कानुन विपरीतका कार्यहरू गर्ने कुनै पनि व्यक्तिलाई तत्काल कानुन बमोजिम कडा कारबाही गरिने निर्णय गरिएको बाँकेका प्रजिअ विपिन आचार्यले जानकारी दिनुभयो ।

प्रजिअ आचार्यका अनुसार बैठकले शान्ति सुरक्षाको वर्तमान अवस्थालाई पूर्णरुपमा सामान्य अवस्थामा ल्याउने र नेपालगन्ज क्षेत्रमा हाल जारी रहेको कर्फ्यु आदेश क्रमशः खुकुलो बनाउँदै लगी पूर्णरुपमा हटाउन जिल्ला सुरक्षा समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यसैगरी सामाजिक सद्भाव कायम राख्न र अब उप्रान्त सद्भाव भड्किन नदिने प्रतिबद्धता गर्ने, सबै क्षेत्र, तह र तप्काको उल्लेख्य सहभागिता हुने गरी सद्भाव रैली केही दिनभित्र आयोजना गर्ने निर्णय पनि बैठकले गरेको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

दुई दिनदेखि अशान्त रहेको नेपालगन्जलाई धार्मिक सद्भाव कायम गरी पुरानै लयमा फर्काउने विषयमा बुधवार जिल्ला प्रशासन कार्यालय बाँकेमा बसेको सर्वदलीय र सर्वपक्षीय बैठकमा लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोषकुमार पाण्डेय, गृहसचिव लालबाबु कबारी, प्रतिनिधिसभा सदस्य डा. धवलशम्सेर राणा, प्रदेश सांसद कृष्णा केसी, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, पूर्व शहरी विकासमन्त्री इश्तियाक राई, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख डिआइजी उमेशराज जोशी, सशस्त्र प्रहरी डिआइजी अभिकुमार खत्री सहभागी हुनुहुन्थ्यो ।

जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुख, स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सामाजिक सङ्घ संस्था, विभिन्न धार्मिक गुरुहरू तथा मुस्लिम अगुवा र हिन्दु अगुवाहरूलगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.