डाक्टर । विशिष्ट पढाइ अनि सम्मानित पेशा । तनहुँमा जन्मेर हुर्केका डा.केशव पौडेललाई बच्चैदेखि यस्तै लाग्थ्यो । औषधि र उपचारमा उनको चाख थियो । व्यक्तिगत क्षमता र परिवारको साथ पनि पाए । त्यसैले त उनले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर पाए । एमबिबिएस पूरा गरे । रोजगारी नपाउने त कुरै भएन । अत्यन्त कुशल र समर्पित स्वास्थ्यकर्मीका रूपमा पौडेलले आफूँलाई प्रमाणित गरिदिए । त्रिवि शिक्षण अस्पतालमा काम गर्दा उनलाई सन् २००३ मा दिइएको बेस्ट मेडिकल अफिसर अवार्ड नै त्यसको सबैभन्दा ठूलो प्रमाण हो ।
उनको अध्ययनशील स्वभावलाई यो अवार्डले झनै बल पुर्यायो । चिकित्सा विज्ञानमा थप खोजी गर्ने हुटहुटी जाग्यो । त्यही हुटहुटीले उनलाई पुर्यायो सपनाको देश अमेरिका । विशेषज्ञताको खोजी गर्न अमेरिका पुगेका पौडेल ‘इन्टरनल मेडिसिन’का विशेषज्ञ डाक्टर बने । विशेषज्ञता हासिल गरेपछि पुनः नेपाल फर्किने योजनासहित अमेरिका पुगेका पौडेललाई अमेरिकी वातावरणले नेपाल फर्किन दिएन, उतै रोकिदियो । ‘एमडी पूरा गरेपछि फर्किने योजना थियो’ आफ्नो अमेरिका यात्रा र बसाइबारे उनले भने, ‘तर, खोइ किन हो, फर्किन सकिनँ।’
डा.पौडेललाई अमेरिकामा नै रोकिदिने कारण थियो, त्यहाँको भौतिक सुख । केही समय भौतिक सुखमा रमाए । सम्मानित पेशा थियो, आर्जन पनि राम्रै थियो, तर, उनको मन भने खुसी थिएन । उनलाई नेपालको माया बल्झिरह्यो । नेपालको न्यास्रो लागिरह्यो । नेपालमा रहँदा विभिन्न संघ संस्थामा रहेर काम गरेको उनको स्वभावले त्यहाँ पनि त्यस्तै खोजिरह्यो । राजनीतिक चेत थियो, लोकतान्त्रिक संस्कार थियो, सामाजिक भाव थियो, यिनै कुराले उनको मनलाई नेपालतर्फ डोर्याउँदै थियो । त्यही मनले उनलाई पुर्यायो सामाजिक अभियानमा ।
अनि सामाजिक अभियानमा
समाज एउटा नदेखिने धागोमा बाँधिएको हुन्छ । त्यो नदेखिने धागो भावना हो । भावनाको अर्को अर्थ अध्यात्म । नेपाल फर्किन्छु र केही गर्छु भन्ने थियो तर, यतै रोकिएँ, उनले भने, नेपाल र नेपालीसँग जोडिने प्रयास स्वरुप नेपाली समाजसँग सम्बन्धित संस्थामा सक्रियता बढाएँ ।
डा. पौडेलले सामाजिक संस्थामा सक्रियता मात्रै बढाएनन्, कतिपय संस्था त उनकै अग्रसरता र नेतृत्वमा स्थापित नै भए । कुनैमा पदाधिकारी रहे, कुनै संस्था स्थापना गर्ने अभियानको नेतृत्व लिए । राजनीतिक चेतबाट प्रशिक्षित पौडेलले अमेरिकामा नेपाली जनसम्पर्क समिति स्थापनाको नेतृत्व लिए । तर, पदाधिकारी रहेनन् । सल्लाहकारको भूमिकामा देखिए । समाजसेवामा होमिइसकेका पौडेलले दायरा र क्षेत्र फराकिलो बनाउँदै लगे ।
प्रवासी नेपालीहरुको विश्व सञ्जाल गैरआवासीय नेपाली संघ(एनआरएनए) । संघमा उनको सक्रियता बढ्दै गयो । सन् २०१३ मा त उनलाई एनसीसी अमेरिकाको सल्लाहकारको जिम्मेवारी दिइयो । सल्लाहकारको भूमिकामा उनले आफ्नो सांगठनिक कौशल प्रदर्शन गरे ।
२०१५–२०१७–२०१९ मा लगातार दुई कार्यकाल एनसीसी अमेरिकाको नेतृत्व गरे । आफ्नै कार्यकालमा एनसीसी अमेरिकालाई संसारकै ठूलो एनसीसी बनाउन पौडेल सफल भए । पौडेलको सक्रियता, सांठनिक कौशल र सामाजिक भावकै कारण यो संभव भएको उनलाई चिन्नेहरु बताउँछन्।
मेहनत र अवसर पाए धन कमाउन गाह्रो हुँदैन । तर, मानिसहरुको मन जित्न भने त्यति सजिलो छैन। जागिर र व्यवसायमा जस्तो निश्चित समय दिएर मात्रै गरेको कामले मानिसहरुको मन जित्न सजिलो हुँदैन । यो तथ्यलाई राम्ररी बुझेका पौडेलले अमेरिकी नेपाली समाज र मातृभूमि नेपालमा सहयोगका लागि निरन्तर सक्रिय रहे।
२०१५ को विनाशकारी भूकम्पका बेला एनसीसी अमेरिकाको अध्यक्ष पौडेलले अमेरिका क्षेत्रबाट नेपालमा सहयोग ल्याउने अभियानको नेतृत्व मात्रै गरेनन्, अतिप्रभावित क्षेत्रमा आफैं खटिएर घाइतेको उपचार, पीडितलाई राहत तथा उद्दारमा सक्रिय रहे। नेपालमा बाढीपहिरो र आगलागीजस्ता दैवी विपत्ति आइपर्दा व्यक्तिगत र संस्थागत रूपमा सहयोग उपलव्ध गराउँदैै आएका पौडेलले हेल्प डेस्क नै स्थापना गरेर सहयोगी मनहरुलाई पनि जोड्ने प्रयास गरे ।अमेरिकामा मात्रै संसारभर सामाजिक अभियन्ताको रुपमा परिचित पौडेलले यसबीचमा गरेका कामहरुको सूची लामो छ।
विदेशमा हुर्केको नयाँ पुस्तालाई नेपाली भाषा र संस्कृतिसँग जोड्न गैरआवासीय नेपालीहरूको बाक्लो उपस्थिति भएका शहरहरूमा नेपाली भाषा कक्षा सञ्चालन र त्यसका लागि आवश्यक पाठ्यक्रमको विकास चानचुने कुरा थिएन । नेपालीपन र नेपाली मनबाट मात्रै यो संभव हुन्थ्यो, उनले प्रमाणित नै गरिदिए ।
डा. पौडेलकै कार्यकालमा विभिन्न अमेरिकी शहरहरूमा नेपाली भाषामा ड्राइभिङ लाइसेन्स परिक्षा दिन पाउने व्यवस्था पनि गरिएको थियो । अमेरिकाका विभिन्न शहरहरूमा नेपाली भूगोलभित्रका नाम उल्लेख हुनेगरी गल्ली र सडकहरूको नामाकरण पनि गरियो । अमेरिकी सहरभित्र नेपाली नाममैै सडकको नामाकरण हुनु सबै नेपालीहरुका लागि गर्वको विषय हो ।
दक्ष चिकित्सक, कुशल व्यवस्थापक
चिकित्सा यात्रामा एउटा स्थापित नाम हो, डा.केशव पौडेल । नेपालमा होस् वा अमेरिकामा उनी दक्ष चिकित्सकका रुपमा परिचित छन् । इन्टरनल मेडिसिनका विशेषज्ञ पौडेलले यसलाई प्रमाणित पनि गरिसकेका छन् । नेपालमै रहँदा उनले पाएको अवार्ड होस् वा अमेरिकी अस्पताल, विश्वविद्यालय र संस्थाहरुले उनलाई दिएको पुरस्कार र सम्मानले चरितार्थ गरिसकेको छ ।
अमेरिकामा लभलेस हेल्थ सिस्टम, न्यू मेक्सिकोको सिनियर मेडिकल डाइरेक्टरका हैसियतमा काम गर्दा पनि उनलाई दिइएको ‘हेल्थ केयर हिरो अवार्ड २०१७’ त्यसैको एउटा उदाहरण हो । विश्वविद्यालयमा प्राध्यापन, अस्पतालमा उपचार सेवा र आफैंले स्थापना गरेको अस्पतालको व्यवस्थापनबाट उनी कुशल व्यवस्थापकका रुपमा स्थापित भएका छन् ।
युनिभर्सिटी अफ टेनेसी, अमेरिकाबाट एमबीए गरेका पौडेल व्यवस्थापकीय कलामा पनि अब्बल सावित भएका छन् । जागिर गर्दा र आफैँले व्यवसाय सन्चालन गर्दाको फरक के रहेछ ? भन्ने प्रश्नमा उनको जवाफ छ, ‘जागिरमा समय सीमा हुँदो रहेछ, व्यवसायमा त्यस्तो कुनै सीमा नहुने रहेछ, सीमा नहुँदा चाहेको काम गर्न सजिलो हुने पाएँ।’
विश्वासिला अभियन्ता, प्रष्ट वक्ता
राजनीति समाज रुपान्तरणको मुख्य माध्यम हो । विद्यार्थी जीवनमा नै उनले यो सिकिसकेका थिए । तर, राजनीतिले मात्रै समाजलाई गति दिन सक्दैन । सामाजिक चेतना र जागरणको विकासका लागि छुट्टै अभियान पनि चलाउनुपर्छ । त्यो हो, सामाजिक अभियान । नेपाली समुदाय र समाजसँग सम्बन्धित संस्थाहरुमार्फत सामाजिक अभियान सन्चालन गर्नु राम्रो हुने उनको बुझाइ रह्यो । अमेरिकामा रहेका नेपाली समाजसँग सम्बन्धित दर्जनौं संस्थामार्फत उनले समाज रुपान्तरण र सेवाको काममा हात फैलाए ।
समाजका लागि गर्नुपर्ने कल्याणकारी काम नै हो । कल्याणकारी कामका लागि समाजका सबै पक्षका बीचमा हातेमालो जरुरी हुन्छ । उनले अभियान थाले, साथ पनि पाए । उनको इमान्दारिता र लगनशीलतालाई सबैले रुचाएका थिए, विश्वास गरेका थिए । विनाशकारी भूकम्पले निम्त्याएको विपत्तिमा एनसीसी अमेरिकाले उपलब्ध गराएको सहयोग त्यसैको एउटा प्रमाण थियो । जे गर्ने हो प्रष्ट भन्नुपर्छ र जे भनिन्छ त्यसलाई व्यवहारमा देखाउन सक्नुपर्छ, उनको मान्यता छ ।
एनआरएनए मन्त्रालयको माग
एनसीसी अमेरिकाको लगातार दुई कार्यकाल नेतृत्व गरेका पौडेल कुशल संगठकका रुपमा परिचित छन् । स्पष्ट नीति र कार्ययोजनासहित सामाजिक अभियानमा सक्रिय हुने र आफ्नै नेतृत्वमा पूरा गर्ने उनको कार्यशैली छ । नीति बनाउने र आफ्नै नेतृत्वमा कार्यान्वयन गर्ने स्वभावका पौडेल यतिबेला गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्आ(इसीसी)को उपाध्यक्ष बन्ने तयारीमा छन् ।
यही अक्टोबर १७–२० सम्म काठमाडौं हुने आइसिसीको निर्वाचनमा उनले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । अध्यक्षमा महेशकुमार श्रेष्ठलाई समर्थन गरेका पौडेलले श्रेष्ठको नेतृत्वमा स्पष्ट नीति र योजनासहित दुई वर्ष संस्थालाई गति दिने योजना बनाएका छन् । सरकारसँग एनआरएनए मन्त्रालयको माग जोडतोडले उठाएका छन् ।
अमेरिकाको अध्यक्ष हुँदा अनलाइन मतदानको सुरुवात गरेका पौडेलले विश्वव्यापी रुपमा नै संस्थागत सुधारको योजना बनाएका छन् । संस्थागत सुधारसँगै गैरआवासीय नेपालीहरुबीचको एकता र उनीहरुले पाउने अधिकार व्यवहारमै स्थापित गर्ने पौडेलको योजना छ ।
गैरआवासीय नेपालीहरुलाई नागरिकता प्रदान गर्दै सम्पत्तिको अधिकार सुरक्षित गर्न उनले प्रमुख मुद्दा अघि सारेका छन् । एनआरएनएलाई संस्थागत रुपमा सबैको सहभागिता र भूमिका सहितको बनाउन सक्दा संघको प्रशासनिक खर्चमा पनि कटौती गर्ने, विश्वभर रहेको अनुभव, ज्ञान, पुँजी र सामर्थ्यलाई संस्थागत ढंगवाट नेपालका नेपाली र गैर आवासीय नेपालीका बीच पनि उपलब्धिमूलक ढंगवाट पुर्याउन पहल गर्ने संकल्प गरेका छन् ।
महासचिब हुँदा प्रभावशाली भूमिका निर्वाह गरेका डा.पौडेलले दोहोरो कर प्रणाली, आप्रवासी कामदारको सामाजिक सुरक्षाको जिम्मेवारी, वैदेशिक श्रम बजारमा सिपयुक्त जनशक्त्ति, कूटनीतिक नियोगहरुवाट दिइने सेवामा सेवाग्राहीको सरल पहुँच र सहज समाधानको पहल, नेपालको निर्वाचनमा मत दिन योग्य गैर आवासीय नेपालीले मत दिन पाउने व्यवस्थाको कार्यान्वयन, कठिनाई रहित भन्सार सुविधा, पुँजीको सरल व्यवस्थापन, वैदेशिक श्रम बजारवाट नेपाल फर्कन चाहनेहरुका लागि आवश्यक व्यवस्थाको पहल, सुरक्षित वैदेशिक श्रम बजारलगायतका मुद्दामा काम गर्ने अठोट लिएका छन् ।
विशेषगरी उनले उठाइरहेको मुद्दा भनेको प्रवासमा रहेका नेपालीहरुको समस्या समाधान गर्न नेपाल सरकारले छुट्टै एनआरएनए मन्त्रालय स्थापना गर्नुपर्छ भन्ने हो । उनी भन्छन्,‘संसारभरि फैलिएका एनआरएनहरुका समस्याहरु सम्बोधन गर्न तथा एनआरएनहरुसंग रहेको सीप, पूँजी, अनुभव र संजाल नेपालको हितमा सदुपयोग गर्नका लागि एउटा छुट्टै एनआरएन मन्त्रालय गठन आवश्यक छ । यसका लागि सरकारसँग लबिङ गर्नेछु । त्यस्तै विश्व ज्ञान सम्मेलनलाई नेपालको समृद्धि, सूचना तथा प्रविधि क्षेत्रको विकास, प्रविधि तथा सीप हस्तान्तरण जस्ता विषयमा केन्द्रित गरी आयोजना गर्न साथै संघका सबै गतिविधिमा युवा र महिलालाई अग्र स्थान दिन, प्रवासमा हुर्कंदै गरेको दोश्रो र तेश्रो पुस्तालाई नेपालसंग जोड्न, प्रवासमा नेपाली भाषा, संस्कृति र कलाको प्रवर्द्धनमा संस्थागत रुपमा पहल गर्छु ।’
गैरआवासीय नेपालीहरु नेपालको विकासको साझेदार भएपनि लगानीको बाटो र सुरक्षाको प्रवन्ध नभएकाले त्यसको व्यवस्थापन र वैदेशिक लगानी भित्र्याउन पहल गर्ने उनको सोच छ । ‘गैर आवासीय नेपाली संघ संस्था मात्रै होइन, अभियान पनि हो । यो अभियानमा सकेसम्म बढी प्रवासी नेपालीहरु जोडिनुपर्छ र जोड्नुपर्छ । अनि मात्र हाम्रो अभियान सफल हुने छ’ उनको भनाइ छ ।