एनआरएनए अध्यक्षमा रवीना थापाले गरिन् उम्मेदवारी घोषणा

0

गैर आवासीय नेपाली संघ (एनआरएनए) की अध्यक्ष रवीना थापाले अबको नेतृत्व समझदारी, सहकार्य र एकताको पक्षपाती हुनुपर्ने भएकाले आफूले पुन उम्मेदवारी दिएको बताएकी छिन्।

काठमाडौँमा बिहीबार दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै थापाले त्यसका लागि आफू नै उपयुक्त र सक्षम रहेको दाबी गरिन् ।

थापाले निर्वाचनलाई भड्किलो बनाउन नहुनेमा जोड दिँदै आफू महाधिवेशन प्रतिनिधिले मात्र होइन, एनआरएनएका प्रत्येक पञ्जीकृत सदस्यले मतदान गर्न पाउनुपर्ने पक्षमा रहेको बताइन् ।

थापा वर्तमान कमिटीमा तीन मध्येकी एक अध्यक्ष हुन्। १०औँ महाधिवेशनमा निर्वाचन हुन नसकेपछि उनी लगायतका डा बद्री केसी र कुल आचार्य तीनै जनालाई अध्यक्ष बनाइएको थियो।

थापाले आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण उपलब्धि भएको दाबी गरिन्। उनेले गैर आवासीय नेपाली नागरिकताका लागि संसद् र नेपाल सरकारले महत्त्वपूर्ण निर्णय गरेको, नवौँ राष्ट्रिय खेलकुदमा पहिलो पटक एनआरएनएको टिम सहभागी भई पदक समेत जितेको स्मरण गरिन् ।

उनले आफ्नो कार्यकालमा संघको काठमाण्डौंस्थित कार्यालयको पूर्वाधार विकास, पोखरामा स्मार्ट शौचालय निर्माण सुरु गरिएको (चाँडै हस्तान्तरण हुने), बिरामीलाई रगत अभाव नहोस् भनेर घुम्ती रक्तसञ्चार बस सेवा सुरु गरिएको (३ प्रदेशमा चाँडै हस्तान्तरण हुने तयारीमा), विदेशमा रहेका नेपालीलाई समस्या परेमा तत्काल जानकारी गराउन २४ सै घण्टा खुला रहने हटलाइन सेवा सुरु गरिएको बताइन् । संघको विधान पहिलो पटक सर्वसम्मतले पास गराएको, पदाधिकारी मै युवा र महिलाको प्रतिनिधित्व विधानमा सुनिश्चित भएको जस्ता धेरै काम भएको उनको भनाइ छ ।

विदेशमा रहेका नेपालीहरूको हक हित र समस्या मा सहयोग गर्ने तथा नेपाल र नेपालीको समृद्धिमा काम गर्ने विशुद्ध सामाजिक संस्था हो, ’ अध्यक्ष थापाले भनिन्, ‘यो न त कुनै राजनीतिक भातृ सङ्गठन हो न त कुनै व्यापारिक या व्यावसायिक संस्था नै हो ।’ विदेशमा बस्ने नेपालीहरू सबैको अवस्था एउटै नभएको उल्लेख गर्दै खाडीमा काम गर्ने श्रमिक दाजुभाई देखि विद्यार्थी र सामाजिक तथा आर्थिक हैसियत बनाएका सबैको भावनाको प्रतिनिधित्व हुने नेतृत्वमा उनले जोड छ ।

उनले विधान विपरीत प्यानल बनाएर निर्वाचनमा जाँदा संघमा मनमुटाब बढेको उल्लेख गर्दै ११ औँ महाधिवेशनमा प्यानल पूर्ण रूपमा निषेध गरिनुपर्नेमा जोड दिइन् । चरम गुटबन्दी, राजनीतिक चलखेल, विवाद र व्यापारीकरणले संघको गरिमा घटेको र गलत सन्देश गएको उल्लेख गर्दै थापाले राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठी सक्षम, सबल गतिशील र संयोजनकारी नेतृत्व चयन गर्न एनआरएनएका महाधिवेशन प्रतिनिधिलाई आग्रह गरिन् ।

सो अवसरमा सार्वजनिक गरिएको थापाको २५ बुँदे घोषणापत्रमा संघको संरचनागत सुधारदेखि नेपाल र नेपालीको समृद्धिका लागि नेपाल सरकारसँग सहकार्यका विषय उल्लेख छ । त्यस्तै स्वास्थ्य, शिक्षा, पूर्वाधार, पर्यटन, सञ्चार, कृषि ऊर्जा लगायतका विभिन्न क्षेत्रमा उनको योजना र अवधारणा घोषणापत्रमा समेटिएको ।

पत्रकार सम्मेलनमा थापाले विदेशमा रहेका नेपालीहरूलाई वंशजकै नागरिकताको निरन्तरता देखि श्रम स्वीकृति लिएर गएका श्रमिक जी टु जीबाट जाने नेपाली र विद्यार्थी भिसामा गएका विद्यार्थीहरूलाई केही समस्या परेमा नेपाल सरकारले तत्काल पहल गर्नुपर्ने र यसमा एनआरएनएले निरन्तर समन्वय गरिरहनुपर्ने बताइन् ।

Leave A Reply

Your email address will not be published.