नेप्लिज बिजनेस एसोसिएसन डेनमार्कको साधारणसहभा सम्पन्न, मिलन टी. श्रेष्ठलाई पुन अध्यक्षको जिम्मेवारी,
नेप्लिज बिजनेस एसोसिएसनको वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न भएको छ। आइतबार कोपन्हेगनमा भएको साधरणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्दै संस्थापक अध्यक्ष मिलन टी. श्रेष्ठलाई सर्वसम्मत रूपमा पुन अध्यक्ष चयन गरेकोछ ।
संस्थाको निरन्तरता, स्थायित्व तथा प्रभावकारी कार्य सम्पादनका लागि सर्वसम्मत निर्णय मार्फत मिलन टी. श्रेष्ठलाई पुनः अध्यक्षमा चयन गरिएको नेपाली ब्यबसायीहरुले बताएकाछन् । सभामा उपस्थित सदस्यहरूले उहाँको नेतृत्व क्षमता, समर्पण तथा संस्थाप्रति पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै पुनः विश्वास व्यक्त गरेका थिए।
उक्त साधारण सभाबाट चयन भएको नयाँ कार्यसमितिमा अध्यक्ष: मिलन टी. श्रेष्ठ, उपाध्यक्ष: शशी श्रेष्ठ, महासचिव: किशोर प्रसाई (निरज), सचिव: सुवर्ण गौतम, कोषाध्यक्ष: बबि क्षेत्री, लेखा निरिक्षक: नबिन राज पौडेल र सदस्यहरुमा कृष्ण अधिकारी,बुद्धि सापकोटा,सिता विश्वकर्मा,पुनम श्रेष्ठ,प्रकाश बिष्ट,प्रकाश श्रेष्ठ,योगेश भट्टराई,सुबास ढुंगाना,सन्जिब साम गिरी,अनु अधिकारी चयन हुनुभएकोछ।
आवश्यकता अनुसार कार्यसमितिले थप बिस्तार गरि सदस्य मनोनयन गर्ने निर्णय समेत गरेको छ।
साधारण सभाको क्रममा संस्थाको हालसम्मको गतिविधि, उपलब्धि तथा भावी कार्यदिशाबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा लेखा निरिक्षक नबिन राज पौडेल, सदस्य बुद्धि सापकोटा, पूर्व महासचिव कृष्ण अधिकारी, उपाध्यक्ष शशी श्रेष्ठ, कोषाध्यक्ष बबि क्षेत्री, सचिव सुवर्ण गौतम तथा महासचिव किशोर प्रसाईले आ–आफ्नो मन्तव्य राख्दै संस्थाको भूमिका, आवश्यकता र उपयोगिताबारे धारणा व्यक्त गरेका थिए।
उपाध्यक्ष शशी श्रेष्ठले आफ्नो मन्तव्यमा डेनमार्कस्थित नेपाली राजदूतावाससँग नजिकको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै नर्डिक मुलुकहरू तथा अन्य युरोपेली देशहरूमा रहेका नेपाली व्यवसायीहरूसँग समन्वय विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। साथै, नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) लगायत नेपालका व्यावसायिक संस्थाहरूसँग सहकार्य गर्दै संस्थागत रूपमा अघि बढ्न सके नेपाली व्यवसायीहरूको हित र अवसर अझ सुदृढ हुने धारणा व्यक्त गर्नुभयो।
वक्ताहरूले नेप्लिज बिजनेस एसोसिएसन नेपाली व्यवसायीहरूलाई एकजुट बनाउने साझा मञ्चका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै आगामी दिनमा व्यवसायिक सहकार्य, सूचना आदान–प्रदान, नेटवर्क विस्तार तथा आपसी सहयोगलाई अझ प्रभावकारी बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याएका थिए। संस्थाको सफलता सबै सदस्यहरूको सक्रिय सहभागितामा निर्भर रहनेमा समेत जोड दिइएको थियो।
यसै क्रममा सभाले एउटा महत्वपूर्ण नीतिगत निर्णय पनि गरेको छ। संस्था क्रमशः विकासोन्मुख अवस्थामा रहेकाले आगामी दिनमा आयोजना हुने सम्पूर्ण औपचारिक कार्यक्रमहरू राउण्ड टेबल प्रणालीमा सञ्चालन गरिने र खातामाला तथा विशेष मञ्चको व्यवस्था नराखिने निर्णय गरिएको छ। यस निर्णयले संस्थाभित्र समानता, पारदर्शिता, सहभागिता र सहकार्यको संस्कारलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
पुनः अध्यक्षमा चयन भएपछि मिलन टी. श्रेष्ठले सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै आगामी कार्यकालमा संस्थालाई अझ व्यवस्थित, पारदर्शी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले नयाँ कार्यसमितिसँग सहकार्य गर्दै नेपाली व्यवसायीहरूको हकहित, एकता र व्यवसायिक प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने प्रतिवद्धता जनाउनुभयो।
कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो। सहभागी सदस्यहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै नेप्लिज बिजनेस एसोसिएसनको उज्ज्वल भविष्यको कामना गरेका थिए।