तछाड मछाड गर्दिन्, पुनः उपाध्यक्षमा उम्मेदवार हुन्छु : हेमराज शर्मा

0

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले पुनः उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् ।

डा. शर्माले बुधवार एक विज्ञप्ति जारी गर्दै संघको अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको  बताएका छन् । उनले यसअघि संघको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

विज्ञप्तिमा एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुने उल्लेख छ ।  डा. शर्माले विज्ञप्तिमा प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण  र सबैको साझा, सबल र स्मार्ट एनआरएनए निर्माण गर्ने अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् । शर्माले संस्थालाई रि-ब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित प्रतिनिधि समक्ष आउने बताए ।

डा. शर्माको विज्ञप्तिको पूर्णपाठ

आदरणीय गैरआवासीय नेपाली दाजु भाई तथा दिदी बहिनीहरू,

आगामी अक्टोबरको आसन्न गैरआवासीय नेपाली संघको निर्वाचनमा मेरो उम्मेदवारीबारे यहाँहरुले देखाउनु भएको चासो प्रति हार्दिक आभार व्यक्त गर्दछु ।

राष्ट्रिय समन्वय परिषद्को महासचिव, अन्तर्राष्ट्रिय समन्वय परिषद्को सदस्य, प्रवक्ता, महासचिव हुँदै अहिले उपाध्यक्षको जिम्मेवारी सम्हालिरहँदा तपाईहरुले मबाट राख्ने अपेक्षा, मप्रतिको चासो स्वभाविक नै हो । यस अवधिमा मेरो कामको समिक्षा र मूल्यांकन तथा मेरो क्षमताको कदर गर्दै  अबको नेतृत्व मैले लिनु पर्छ भन्ने यहाँहरुको सुझावलाई म हृदयदेखि नै सम्मान गर्छु र मप्रतिको विश्वास र भरोसाप्रति कृतज्ञ छु ।
यहाँहरुको अपेक्षा अनुसार म संस्थाको नेतृत्व लिन सक्षम पनि छु । तर  झण्डै १८ वर्षदेखि एनआरएन अभियान मेरो लागि सदैव एक पवित्र अभियानकै रुपमा रहँदै आएको छ । संस्थालाई जहिले पनि जोडेर राख्नुपर्छ र यो पवित्र अभियान जीवन्त बनाउनुपर्छ भन्नेमा म अडिग छु ।

वर्तमान अध्यक्षज्यूहरु र केही पदाधिकारी साथीहरुले पनि अध्यक्ष पदमा उम्मेदवारी अघि सारेको अहिलेको अवस्थामा सहमतिबाटै  नेतृत्व चयन गर्न सक्यो भने यस महान अभियान र समग्र गैरआवसीय नेपालीको हितमा हुने विश्वास लिँदै आम सहमतिको लागि मार्गप्रशस्त गर्न पुनः उपाध्यक्ष पदमा नै उम्मेदवारी दिने निचोडमा पुगेको छु ।

मलाई थाहा छ, मेरो यो निर्णयले पक्कै पनि मेरा शुभचिन्तकहरुलाई निराश बनाउने छ । तर एनआरएनए जस्तो सामाजिक संस्थामा तछाड–मछाड गरेर नेतृत्व लिनु भन्दा धैर्यताका साथ आपसी समझदारी, सहकार्य र सहमतिले अगाडि बढ्नु नै उपयुक्त हुन्छ भन्ने विगतबाट सिकेको पाठ हामी माझ छ ।

अतः अध्यक्ष पदका अन्य आकांक्षी साथीहरुलाई पनि सहमतिमा नेतृत्व चयन गर्ने वातावरण बनाउनु हुन अनुरोध गर्दछु ।

प्रविधिको प्रयोग गरी संस्थाको रुपान्तरण  र सबैको साझा, सबल, र स्मार्ट एनआरएनए  निर्माण  गर्ने मेरो अभियानलाई थप सशक्त र प्रभावकारी रुपमा अघि बढाउने छु ।  संस्थालाई रिब्राण्डिङ गर्ने स्पष्ट मार्गचित्रसहित यहाँहरु समक्ष छिट्टै आउनेछु र यहाँहरुको सहयोग अपेक्षा गरेको छु ।

डा हेम राज शर्मा
उपाध्यक्ष, गैरआवासीय नेपाली संघ
२७ सेप्टेम्बर २०२३
लिभरपुल, युके

Leave A Reply

Your email address will not be published.