चिकित्सक संघद्वारा आन्दोलनका कार्यक्रम घोषणा

0

काठमाडौं \  नेपाल चिकित्सक संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि आक्रमण गरी घाइते बनाएको भन्दै संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

संघका महासचिव डा.सञ्जीव तिवारीले ७२ घण्टाभित्र घटनामा संलग्न दोषीलाई कानूनी कारबाही नगरे देशभर आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गरेर ज्यानको सुरक्षामा खटिन बाध्य हुने चेतावनी दिनुभयो । एक समूहले डा. थापा र बिडारीमाथि ज्यान मार्ने उद्देश्यले शारीरिक हमला गरी गम्भीर घाइते बनाएको भन्दै सरकारले दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताउनुभयो ।

गत भदौ २७ गते डा. थापा र डा. बिडारीमाथि सन्चो अस्पताल हेटौंडामा बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भएको थियो । तिवारीले गम्भीर घाइते भएका चिकित्सकहरूको स्वास्थ्य अवस्थ अत्यन्तै नाजुक भएको बताउनुभयो । उहाँले चिकित्सकका परिवार एवं अन्य स्वास्थ्यकर्मीहरूलाई समेत बारम्बार धम्काइ असुरक्षित एवं आतंकित बनाइएको बताउनुभयो ।

डा.सञ्जीव तिवारीले ज्यान मार्ने किसिमको घटनालाई अस्पतालको सिसिटिभीमा कैद भई सामाजिक सञ्जालभर सार्वजनिक भइरहँदा समेत सुरक्षा निकायले गम्भीरतापूर्वक नलिएको बताउनुभयो । उहाँले ७२ घण्टाको अल्टिमेटम दिएर सो घटनाका दोषीहरूलाई कानूनी दायरामा ल्याई हदै सम्मको कारवाहीको माग गर्नुभयो ।

सन्चो अस्पताल हेटौंडामा कार्यरत चिकित्सकहरू डा. थापा र डा. बिडारीमाथि भएको कुटपिटको घटनामा प्रहरीले ४ जनालाई पक्राउ गरिसकेको छ । बुधबार चिकित्सकहरुमाथि अस्पतालभित्रै आक्रमण भएको थियो ।

Leave A Reply

Your email address will not be published.