१९औं एसियाड टोलीको बिदाइ : खेलाडीको हौसला बढाउन प्रधानमन्त्री चीन जाने

0

काठमाडौं \ चीनको हाङझाउ सहरमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ (असोज ६ गतेदेखि २१ गते) सम्म आयोजना हुने १९औं एसियाली खेलकुद (एसियाड) मा सहभागीता जनाउने नेपाली टोलीको बिदाइ गरिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार आयोजित विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले एसियाड टोलीको बिदाइ गर्नुभएको हो । एसियाकै ठूलो खेल कुम्भमेलामा नेपालले यसपटक विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । नेपालबाट २ सय ५३ खेलाडीले सहभागिता रहने छ ।

४५ देश सहभागी हुने एसियाडमा कूल ४० खेलमध्ये नेपालले २९ खेलमा भाग लिनेछ ।  एसिायडमा नेपालबाट बास्केटबलमा ४, आर्चरीमा ४, एथलेटिक्समा ८, ब्याडमिन्टनमा ८, बक्सिङमा १३,  ब्रेकिनमा १, क्यानोईमा १, क्रिकेटमा १५, साइक्लिङमा २ र ई–स्पोर्टसमा २३ खेलाडी सहभागी हुनेछन् ।

यस्तै फेन्सिङमा ६, फुटबलमा २२, गल्फमा ६, ह्यान्डबलमा १६, जुडोमा ८, कपर्दीमा १२, करातेमा ८, रग्बीमा १२, सुटिङमा २, स्क्वासमा ६, पौडीमा ४, टेबल टेनिसमा ६, तेक्वान्दोमा ११, टेनिसमा ६, ट्रायथलनमा ४, भलिबलमा २४, भारत्तोलनमा ५, कुस्तीमा ४ तथा उसुमा १२ खेलाडीको सहभागिता रहनेछ ।

हौसला बढाउन प्रधानमन्त्री चीन जाने 

खेलाडी बिदाइ कार्यक्रमा प्रधानमन्त्री प्रचण्डले खेलाडीको हौसला बढाउन आफू चीन जान लागेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्ड एसियाडको उद्घाटन सत्रमा चीन जानुहुनेछ । कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले नेपाली खेलाडीको क्षमता राम्रो रहेकोले एसियाडमा उच्च प्रदर्शन हुने बताउनुभयो ।

उहाँले चीन सरकारसँग नेपाली खेलकुदको भौतिक संरचना निर्माणका लागि आफूले पहल गर्ने बताउनुभयो । ‘‘विस्तारै नेपाली खेलकुद राम्रो भइरहेको छ । खेलाडीले राम्रो खेलिरहनु भएको छ । हाम्रो संरचना अझै प्रर्याप्त छैन । यसका लागि सरकारले उचित व्यवस्था गर्दै जानेछ । खेलाडीलाई पुरस्कार र प्रोत्साहन गर्न पनि सरकार तत्पर छ,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.