नेम्वाङ सफल राजनेता हुनुहुन्थ्याे : ओली

0

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संविधानसभाका दिवङ्गत अध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ सफल राजनेता भएको बताउनुभएको छ ।

आज बिहीवार पार्टीकाे संसदीय दलको बैठकमा अध्यक्ष ओलीले नेम्वाङले सफल राजनेताको रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त गर्नुभएको बताउनुभएको हो । उहाँले नेपालको इतिहासमा नेम्वाङको तुलना अन्य कुनै सभामुखसँग पनि नहुने बताउनुभयो । नेम्वाङले दलीय स्वार्थभन्दा माथि उठेर संसद् चलाएको र संसद्को गरिमा बढाएको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिलेसम्मको इतिहासमा हेर्ने हो भने उहाँसँग कसैको तुलना हुँदैन । उहाँले दलीय स्वार्थभन्दा माथि उठेर संसदीय गरिमा बढाउनुभयाे । कानुनको उल्लङ्घन गर्नु हुँदैन भन्ने उहाँको मान्यता थियो । उहाँ एउटा सफल राजनेताको रूपमा राष्ट्रिय, अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति प्राप्त हुनुहुन्थ्यो ।’

अध्यक्ष ओलीले नेम्वाङले नेपालको विविधतायुक्त नेपाली समाजलाई राम्रोसँग चिनेको पनि बताउनुभयाे । नेम्वाङ सामाजिक सद्भाव र सामाजिक न्यायका साथ राष्ट्रिय एकताको पक्षमा रहनुभएको उहाँले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.