मेरो राजनीतिक प्रेरणाको स्रोत बिपी नै हुनुहुन्छ : सभापति देउवा

0

काठमाडौ \  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं पार्टीका संस्थापक नेता जननायक बिपी कोइराला नै आफ्नो राजनीतिक प्रेरणाको स्रोत भएको बताउनुभएको छ ।

पार्टीले आयोजना गरेको आजदेखि प्रारम्भ भएको तीनदिने ‘बिपी साहित्य महोत्सव’को उद्घाटन समारोहमा उहाँले बिपी आफैँमा बहुआयामिक व्यक्तित्व भएको उल्लेख गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्थ्यो भने साहित्यिक आकाशमा सधैं अजर र अमर नक्षत्रको रुपमा आज पनि स्थापित हुनुहुन्छ । उहाँको राजनीतिक चिन्तनले देखाएको मार्ग मै हामी हिँडेका छाैं ।”

बिपीकै चिन्तनले मुलुक समृद्ध बनाउन सकिने र प्रयत्न भइरहेको उल्लेख गर्दै उहाँले नेपालका सबै राजनैतिक दलहरुले कुनै न कुनै दृष्टिकोणले आज पनि बिपीको विचारमा आकर्षित मात्रै होइन अनुकरण पनि गर्दै आएको बताउनुभयो ।

महोत्सवले बिपीले प्रतिपादन गरेको राजनीतिक विचार, उहाँका साहित्यिक कृति, उहाँले भोग्नुपरेका सङ्घर्षमय जीवन गाथा र उहाँको सामाजिक, आर्थिक तथा धार्मिक सांस्कृतिक दृष्टिकोणलगायतका विविधि पक्षमा आजको युवा पुस्तालाई गहिरो ज्ञान बाँड्नेमा सभापति देउवाले विश्वास व्यक्त गर्नुभयो ।

“बिपी सादा जीवनमा विश्वास गर्ने उच्च तहको नेता र प्रसिद्ध साहित्यकार हुनुहुन्थ्यो । हामीले उहाँलाई भेट्दा तिमीहरु ठूलो मान्छे होइन, असल मान्छे बन्नु भन्नुहुन्थ्यो । उहाँले माक्र्स र गान्धीलाई गहिरिएर पढ्नुभएको थियो । प्रेम, शान्ति, अहिंसा र लोकतन्त्रका सन्दर्भमा उहाँ गान्धीसँग र आर्थिक समानताका सवालमा माक्र्सवादी चिन्तनलाई आवश्यक ठान्नुहुन्थ्यो”, सभापति देउवाले भन्नुभयो ।

Leave A Reply

Your email address will not be published.