सरकार, सदन र सडकको मोर्चा समाजवादको आधार : गृहमन्त्री श्रेष्ठ

0

कास्की \  उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार, सदन र सडक तीनवटै मोर्चाको संयोजनबाट समाजवाद निर्माणको आधार तयार गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ। नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश समितिको सातौँ पूर्ण बैठकलाई आज पोखरामा सम्बोधन गर्दै पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहनु भएका गृहमन्त्री श्रेष्ठले सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारको मोर्चा नै अहिले मुख्य रहेको र सदन सहयोगी रहेको उल्लेख गर्नुभयो।

उहाँले नेपाली जनताको जीवनमा तात्कालिक आवश्यकता पूरा गरेर नयाँ जीवन दिनुपर्नेमा जोड दिनुभयो। गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “हालका उपलब्धिलाई राजनीतिक परिवर्तनको क्षेत्रमा सीमित गरियो भने परिवर्तनको औचित्य आम जनतामा पुष्टि हुन सक्दैन। जनताको जीवनमा राजनीतिक परिवर्तनले परिवर्तन ल्याउन सक्नुपर्दछ।”

राष्ट्रिय एकता सुदृढ गर्नु, हालसम्मका उपलब्धि र संविधानको रक्षा गर्नु, संविधानलाई माध्यम र साधन बनाउँदै सामाजिक, आर्थिक रूपान्तरण गरी विकास र समृद्धिको यात्रा तीव्र बनाउनु देशको मुख्य कार्यभार रहेको उहाँले बताउनुभयो।

वर्तमान सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी कामलाई छिटो टुङ्गोमा पुर्‍याउन चाहेको श्रेष्ठले बताउनुभयो। “सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको काम पूरा गर्नुपर्ने छ, द्वन्द्वपीडितलाई न्याय दिनुपर्ने छ, यसपटक हरहालतमा सङ्क्रमणकालीन न्यायको काम पूरा गरेर शान्ति प्रक्रियालाई समग्रमा टुङ्गोमा पुर्‍याउन सरकार लागिपरेको छ”, गृहमन्त्री श्रेष्ठले भन्नुभयो।

Leave A Reply

Your email address will not be published.