काठमाडौँको पुरानो बानेश्वरस्थित शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘ट्रान्जिट’ मा ‘मायावी’ पात्रका रूपमा तीन जना अभिनेत्रीले अभिनय गरेका छन् । भूतकालको यात्रा गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुगेका यी तीन अभिनेत्रीद्वारा मायावीको रहस्यमय कथालाई रोचक ढङ्गबाट प्रस्तुत गरिएको छ । नाटकका मुख्य पात्रहरू एक ट्रान्जिटमा भेट भएपछि अघि बढ्छन्, जहाँ भूत र भविष्यत् कालको ट्रान्जिटका रूपमा वर्तमानलाई मञ्चन गरिएको छ । नाटकका मुख्य पात्र नाटककारकै भूमिकामा देखिएका छन् । उनको नाटकप्रतिको गहिराइ र त्यसमै समर्पित हुँदा एक परिकल्पनामा बाँचेको अवस्थालाई नाटकमा उजागर गर्न खोजिएको छ ।
निर्देशक कल्पनाको संसारमा बाँच्छन्, जसले भ्रम र यथार्थ छुट्याउन सक्दैन । नाटक ट्रान्जिटले दर्शकलाई यस्तै कल्पनाको संसारमा लिएर जान्छ र दर्शकका सोचको घेरालाई भत्काइदिन्छ । यहाँ नाटक, निर्देशक, मानवको स्टुडियो र कफीघाट छ । मानव अवचेतन मनका भावना, प्रेमका साथै मनोदशाले सिर्जना गरेका पात्रले दर्शकलाई सोही मनोभावमा लगेको छ । नाटक निर्देशक मानवशास्त्रीको दिमागमा रहेका केही घटना छन्, जसले शास्त्रीको जीवनको उतारचढाव र प्रेम देखिन्छ । दुःखान्त भोगाइ छ ।
टाइम ट्राभलको काल्पनिक कथामा आधारित नाटकमा भूत र भविष्यत् कालको समय यात्रा गर्ने यात्रुबिच घटेका घटना देखिन्छ । काल पर्यटक मायावी भ्रमण गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुग्छिन् । त्यसमाथि स्टुडियो रहस्यमय स्थितिमा छ । उनको भ्रमणले मानवको विगतमाथि धेरै प्रश्न उठ्छन् । के मायावीले आफ्नो प्रश्नको उत्तर पाउँछिन् ? ट्रान्जिटमा उनले कति समय बिताउँछिन् ? उनी भूतकालमा खुसी छन् त ? उनलाई यो भूत र भविष्यको ट्रान्जिटबाट कसले बाहिर निकाल्छ ? ट्रान्जिटको कथा यही कल्पनाको संसारमा घुमेको छ ।
नाटकमा मायावी आफैँले आफूलाई आकर्षक नारी घोषणा गरेकी छन्। जब कि उनी मानवशास्त्रीको अवचेतन मनमा छाएकी छाया पात्र मात्र हुन्। यता मानव पनि एउटा भ्रमको संसारमा बाँचेको छ। ऊ कल्पना र यथार्थमा रुमल्लिइरहेको छ। भूतकालको समय यात्रा गर्दै इतिहासका विख्यात नाटक निर्देशक मानवको स्टुडियोमा पुगेका तीन जना पात्र मायावीको रहस्यमय कथा हो नाटक ‘ट्रान्जिट’ ।
नाटकको कथा सुन्दर छ । झन् नाम चलेका कलाकारहरूको अभिनयले नाटकलाई उच्चकोटिमा राख्छ । मानवको भूमिकामा देखिएका दिव्य देवको अभिनयले नाटकमा उनी मात्र हाबी देखिन्छन् । उनको अभिनयको जति तारिफ गरे पनि कम हुन्छ । उनले काल्पनिक चुरोट सल्काएको अनि काल्पनिक धुवाँ उडाएको दृश्य प्रशंसायोग्य छ । नाटकको अर्को सुन्दर पक्ष भनेको मायावीको तीन अवतार हुन् ।
मायावीको भूमिकामा देखिएका तीन अवतार शिल्पा मास्के, आकाङ्क्षा कार्की, वासना तिमिल्सिना मानवको जीवन ‘कन्फ्युज’ बनाउने पात्र हुन् । यी तीन पात्र वास्तवमै मायावी लाग्छन् । एउटै नामका तीन अनुहार । उनीहरूको अवतारमा जे देखिन्छ, त्यो हो कि होइन कसैले भन्न सक्दैन । यी भेटिएका पात्रहरू पहिला जस्तो देखिन्छन्, त्यस्तो पछि नदेखिन पनि सक्छन् । किनकि पात्रहरू कल्पनाको महासागरबाट जो निकालिएका हुन् । नाटकभित्र विचित्रका पात्र मात्रै छैनन् । उनीहरूको संसार नै विचित्रको छ । त्यस्तै नाटकमा जेलरको भूमिकामा मिल्सन राईर निर्देशक घिमिरे युवराजको भूमिका पनि दर्शकलाई अवश्य नै मन पर्छ ।
नाटकमा सधैँ नयाँपन ल्याउन खोज्ने निर्देशक घिमिरेले सधैँ झैँ यस पटक पनि दर्शकको मनमा बसिरहने काम गर्नुभएको छ । उहाँको निर्देशकीय क्षमताले अवश्य दर्शकले नाटकमा नयाँ स्वाद चाख्ने छन् । निर्देशकले दर्शकलाई आफू बाँचिरहेको समयभन्दा फरक कुराको अनुभव गराउने खालको नाटक पस्कन खोजेका छन्। नाटकभित्र स्टुडियो, कफीघाट र सङ्ग्रहालय गरी तीन वटा सेटिङ छन्।
टाइम ट्राभल गराउन मञ्चमा अन्य कलाकारको पनि ठुलै साथ छ । देव न्यौपाने, अनुप तिमिल्सिना र स्मारिक पौडेलको सङ्गीत संयोजनले दर्शकलाई अझ बढी मन्त्रमुग्ध बनाउँछ । त्यस्तै प्रवीन खतिवडा र झकेन्द्र बिसीको प्रकाश संयोजनले मञ्चमा अझ उचाइ थप्ने काम गरेको छ । प्रकाशको सही समयमा सही ठाउँमा प्रयोग हुनु नाटकको सबल पक्ष हो ।
नाटकमा धेरै कुराको उतारचढाव छ, जसले शीर्षकमा सार्थकता भरिदिएको छ । नाटक हेर्ने क्रममा दर्शकको मनमा अनेकन जिज्ञासाहरू पलाइरहन्छ । करिब डेढ घण्टा समयावधि रहेको यस नाटकले दर्शकलाई आफैँसँग डो-याउँछ । कुमार नगरकोटीद्वारा लिखित ट्रान्जिट नाटकले यात्रारत यात्रुको कथा पस्केको छ । ‘कोमा : अ पोलिटिकल सेक्स’ र ‘बाथटव’ पछि नगरकोटीको यो तेस्रो नाटक भदौ २ गतेसम्म मञ्चन हुँदै छ । – सुकृत नेपाल गोरखापत्रबाट