विकासका कार्यमा राजनीति नगरौं : प्रधानमन्त्री प्रचण्ड

0

काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमानको पुस्ताले गुणस्तरीय सेवा प्राप्त गर्न र आउने पिंढीलाई उज्यालो भविष्य दिन विकासका कार्यमा राजनीति नगर्न सबैमा आग्रह गर्नुभएको छ । उहाँले नेपाली जनताको हित र विकास निर्माणका काममा सबै इमानदार भएर एकजुट हुन जरूरी भएको बताउनुभएको हो ।

आज (शुक्रबार) काठमाडौंको प्रज्ञा भवन कमलादीमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिक उत्सवलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताउनुभएको छ ।

सो अवसरमा प्रधानमन्त्रीले सरकारले उपयुक्त नीति र कार्ययोजनासहित आन्तरिक विद्युत् माग वृद्धि गर्न विद्युतीय सवारी साधनहरू, विद्युतीय चुल्हो आदिको प्रयोगमा प्रोत्साहन गरेको तथा बढी विद्युत् खपत गर्ने उद्योग कलकारखानाको स्थापना र सञ्चालनमा उपयुक्त वातावरण निर्माण गर्न र विद्युतको अधिकतम उपयोगलाई राष्ट्रिय अर्थतन्त्र र समृद्धिको मजबुत आधारका रूपमा आत्मसात गरी अघि बढ्न सम्बन्धित सबै मन्त्रालय र निकायहरूको आपसी समन्वयमा जोड दिएको औंल्याउनुभयो ।

उहाँले स्वदेशमा उत्पादित जलविद्युतलाई आन्तरिक माग पूरा गरी अन्तरदेशीय बजारको पहुँच दिलाउन भारत, बङ्गलादेश र चीन सरकारसँग भइरहेका प्रयासहरुबारे जानकारी दिनुहुँदै नेपालमा जलस्रोतको प्रचुर सम्भावनाको सदुपयोग गरी लाभ लिन नसकिएको प्रष्ट पार्नुभयो । उहाँले खोलानाला बगिरहने तर त्यसबाट प्रचुर फाइदा लिन नसक्ने विडम्बनापूर्ण अवस्थाको अन्त्य गर्न योजनाबद्ध रूपमा काम गरिरहेको जनाउँदै अहिले देशभरका खोलानाला तथा नदीहरूमा जलविद्युत् आयोजनाहरूको विकासका लागि केही न केही काम भइरहेको बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.